हाम्रो माघी महोत्सव साझा महोत्सव हो


SAM_1586

सत्यनारायण चौधरी
संयोजक
माघी महोत्सव २०७२ मूल आयोजक कमिटी

माघी पर्व थारु समुदायको नयाँ वर्ष हो । यस पर्वलाई अन्य पर्वको तुलनामा थारु समुदायले भव्यताका साथ मनाउँछन् । उपत्यकासहित तराईको २२ जिल्लामा बासोबास गर्ने थारु समुदायको हरेक जिल्लामा माघी पर्व विशेष हुन्छ । विभिन्न काम विशेषले काठमाडौंमा उपत्यकामा बसोबास गर्ने थारुले पनि विगत १३ वर्षदेखि निरन्तररुपले माघी महोत्सव मनाउँदै आएका छन् । यस वर्ष पनि माघी महोत्सव २०७२ हुने भएको छ । माघी महोत्सवको विषयमा जानकारी दिने हिसावले आयोजक समितिका संयोजकसँग लक्की चौधरीले गर्नुभएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

माघी महोत्सवको प्रमूख आकर्षण के हो ?
यसपालीको माघी महोत्सव दशरथ रंगशालामा हुने भएको छ । महोत्सवको प्रमुख आकर्षणमा थारु सांस्कृतिक कार्यक्रम, झाँकी, थारु हस्तकला, थारु समुदायको विभिन्न ८० परिकारका फुड फेष्टिबल तथा उद्घाटनसत्रमा थारु समुदायको मागका बारेमा सन्देश प्रवाह गर्नु नै यस सालको माघीको प्रमुख आकर्षण हो ।

महोत्सव सांस्कृतिक मात्र हो कि राजनीतिक सन्देश दिने पनि हो ?
निश्चय नै थारु समुदाय आन्दोलित छ । थारुको मागबारेमा सरकारलाई जानकारी दिने हिसावले महोत्सवमा तयारी गरिएको छ । महोत्सवमा प्रधानमन्त्री, मन्त्रीहरु, सांसदहरु र राजनीतिक दलका नेताहरु समेत आमन्त्रित गरिएको छ । उहाँहरुलाई थारुको मागबारेमा पनि जानकारी र दवाव दिने लक्ष्य छ ।

महोत्सव यसपाली दुई ठाउँमा हुँदैछ । प्रमुख विवाद के हो ?
अहिलेसम्म १२ वटा महोत्सव एक ठाउँमा जुटेर सम्पन्न ग¥यौं । यस पटक केही राजनीतिक दलका नेताहरुले महोत्सवमा राजनीतिकरण गर्न खोजेपछि महोत्सवमा विवाद देखिएको हो । थारु कल्याणकारिणीसभा विशुद्ध सामाजिक संस्था हो, यसमा राजनीति नघुसाउँ भनेका थियौं । त्यही सानो विवादले दुई महोत्सव हुन गइरहेको छ, अर्को सालदेखि पुनः एक हुन्छ भन्ने मलाई विश्वास छ ।

SAM_1613

महोत्सवमा थारु विशेष परिकार के के रहन्छन् ?
थारुको विशेष परिकार माछा, ढिक्री, तिलको लड्डु, अनदीको भात, केराको तरुवा, सखरखण्ड, खँरिया, फुलौरी, ढिक्री, गगंटा, झझरा, सिन्की, घोङ्घी, सुंगुरको मासु, मुसाको चटनी, सिध्रा आदि रहने छन् ।

महोत्सवमा कति लगानी गर्ने योजना छ ? कतिवटा स्टल रहन्छ ?
यसअघि करिब ११ देखि १२ लाखको लगानी हुन्थ्यो । अहिले महंगाई पनि छ । महोत्सव पनि दुई ठाउँमा हुने भएकाले यसपाली १० देखि १२ लाखकै हाराहारीमा खर्च होला । करिब ५० देखि ६० स्टल रहने अनुमान छ । ५० वटाजति मंगलबारसम्म बुक भैसकेको छ ।

आम्दानीको स्रोत के के हो ?
मन्त्रिपरिषदले ६ लाख रुपिया दिने निर्णय गरिसकेको छ । प्रति स्टल ४ हजारका दरले लिने तय गरेका छौं । गोर्खा ब्रुलरीले ३० हजार जति सहयोग गर्ने भनेको छ । आदिबासी जनजाति प्रतिष्ठानबाट, अन्य ठाउँमा पनि प्रस्ताव प्रस्तुत गरेका छौं । आयल निगमले ३ सय लिटर पेट्रोल दिने भनेको छ । मोटरसाईकल ¥यालीका लागि हो त्यो । हेरौं कतिजति उठ्छ यसपाली ।

प्रमुख अतिथिको निकै विवाद थियो, कसरी कुरा मिल्यो ?
हो, अहिलेसम्मको चलनअनुसार प्रधानमन्त्रीलाई ल्याउने व्यवस्था थियो । अहिले थारु समुदायमा आन्दोलन जारी रहेकाले सरकारको प्रतिनिधिलाई नल्याउन आग्रह गरिएको थियो । तर हामीले थारु कल्याणकारिणीसभा सामाजिक संस्था भएकाले प्रधानमन्त्रीलाई नै ल्याउने अन्तिम समयमा निश्चित् गरेका हौं । एउटै ठाउँमा महोत्सव मनाउँदा सकारात्मक सन्देश जान्थ्यो तर मिल्न सकिएन त्यो कमजोरी भयो ।

महोत्सवको आर्थिक पारदर्शीता भएन भन्ने आरोप तपाईलाई छ नि ?
महोत्सवको हरहिसाव जहिले पारदर्शी गर्दैआएका छौं । त्यसको समिक्षा पनि निरन्तर भएको छ । सबैले मिलेरै सबैको सामुन्ने खर्च र आम्दानी हुने हुनाले पारदर्शीता भएन भन्नु आरोप मात्र हो । म आफ्नो ठाउँबाट पारदर्शी छुँ । हामीले सकेसम्म अडिट रिपोर्ट बनाएर हरहिसाव राख्ने गरेका छौं । समिक्षा बैठकमा केही नभन्ने, पछिबाट आलोचना गर्ने ठीक होइन ।

10

महोत्सवबारे तपाईको सन्देश के छ ?
यो थारुको नयाँ वर्ष र सबै नेपालीको राष्ट्रिय पर्व हो । उपत्यकामा बसोबास गर्ने सबै जनसमुदायलाई महोत्सवमा हार्दिक आमन्त्रण गर्दछु । थारुको संस्कृति, हस्तकला, विशेष परिकारको स्वाद लिन दशरथ रंगशालामा आइदिन म सबैमा विनम्र आग्रह गर्दछु ।

तपाईको प्रतिक्रिया