माघी महोत्सवलाई आन्दोलनकैरुपमा मनाउँछौ


SAM_2605

चन्द्रप्रसाद चौधरी
संयोजक
माघी महोत्सव २०७२ मूल आयोजक कमिटी (खुलामञ्च)

माघी पर्व थारु समुदायको नयाँवर्ष हो । यस पर्वलाई अन्य पर्वको तुलनामा थारु समुदायले भव्यताकासाथ मनाउँछन् । उपत्यकासहित तराईको २२ जिल्लामा बासोबास गर्ने थारु समुदायको हरेक जिल्लामा माघीपर्व विशेष रुपले मनाइन्छ । काम विशेषले काठमाडौं उपत्यकामा बसोबास गर्ने थारुले पनि विगत १३ वर्षदेखि निरन्तररुपले माघी महोत्सव मनाउँदै आएका छन् । यसवर्ष पनि माघी महोत्सव २०७२ माघ १ गते हुनेभएको छ । माघी महोत्सवको विषयमा जानकारी दिने हिसावले आयोजक समितिका संयोजकसँग लक्की चौधरीले गर्नुभएको कुराकानीको सारसंक्षेप –

माघी महोत्सवको प्रमूख आकर्षण के हो ?
यसपालीको युवाहरुको नेतृत्वमा माघी महोत्सव काठमाडौंको खुलामञ्चमा हुनेभएको छ । महोत्सवको प्रमुख आकर्षणमा थारु सांस्कृतिक कार्यक्रम, झाँकी, थारु हस्तकला, थारु समुदायको विभिन्न परिकारका फुड फेष्टिबल, थारु समुदायको उत्पादन, हस्तकलालाई स्वदेशी तथा विदेशी पर्यटकमाझ स्थापित गराउनु नै यो महोत्सवको मूल आकर्षण हो । पाँच विधाका विभिन्न व्यक्तित्वलाई महोत्सवमा सम्मान गर्ने योजना पनि बनाएका छौं ।

tharu-maghi

महोत्सवको प्रमुख सन्देश के हो ?
थारुको संस्कार संस्कृतिसँगै थारुको अधिकार, थारुको माग मुद्दालाई अन्य समुदायसम्म लग्ने महोत्सवको सन्देश हो । हामी थारु समुदाय अहिले पनि आन्दोलनमै छौं । त्यसैले यस पल्टको माघी पर्वलाई आन्दोलनकैरुपमा मनाउने प्रण गरेका छौं ।

महोत्सव यसपाली दुई ठाउँमा हुँदैछ । प्रमुख विमति के हो ?
प्रमुख विमतिको विषय आर्थिक पक्ष नै हो । अहिलेसम्म थारु कल्याणकारिणीसभा उपत्यकाको नेतृत्वमा अन्य थारु संघ संस्थाको आयोजनामा माघी महोत्सव हुँदैआएको छ । तर सभाले अहिलेसम्म हरहिसाव पारदर्शी र जिम्मेवारी बाँडफाँट नगरेकाले हामीले विमती जनाएका हौं । हरहिसाव पारदर्शी नहुँदासम्म महोत्सवको प्रभावकारीता सम्भव छैन । सभाले त्यो गर्न सक्नुपर्छ । आयोजक २५ वटा जति संघ संस्थाको संयुक्त हस्ताक्षरमै खाता खोल्ने प्रस्ताव हामीले गरेका थियौं, सभाले त्यो मान्न तयार नभएपछि हामी अलगिएका हौं ।

महोत्सवमा थारु विशेष परिकार के के रहन्छन् ?
थारुको विशेष परिकार माछा, ढिक्री, तिलको लड्डु, अनदीको भात, केराको तरुवा, सखरखण्ड, खँरिया, फुलौरी, ढिक्री, गगंटा, वयरको चटनी, झझरा, सिन्की, घोङ्घी, सुंगुरको मासु, मुसाको चटनी, सिध्रा आदि रहने छन् ।

C

महोत्सवमा कति लगानी गर्ने योजना छ ? कतिवटा स्टल रहन्छ ?
करिब १३ लाख रुपिया जति खर्च हुने योजना बनाएका छौं । अहिलेसम्म ६० वटा स्टल बुक भइसकेको छ । पुस ३० गतेसम्म ७० वटा जति पुग्ला भन्ने विश्वास छ । एक स्टलबाट ३५ सय रुपिया असुल गर्ने तय गरेका छौं । बाँकी सहयोगहरु अन्य संघ संस्थाबाट उठाइरहेका छौं ।

महोत्सवको अतिथिकोरुपमा को कोलाई निमन्त्रणा गर्नुभएको छ ?
प्रमुख अतिथि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ल्याउने निश्चित् भइसकेको छ । त्यस्तै, विशिष्ट अतिथिमा नायिका रेखा थापा आउँदै हुनुहुन्छ । बाँकी अन्य दलका नेताहरु, संघ संस्थाका प्रतिनिधिहरुलाई पनि आमन्त्रण गरेका छौं ।

मनोरन्जनको विशेष पक्ष के हो महोत्सवको ?
स्थानीयदेखि राष्ट्रिय स्तरसम्मको कलाकारलाई निमन्त्रणा गरेका छौं । थारु कलाकारहरुले थारु नृत्य र सांस्कृतिक कार्यक्रमहरुले मनोरन्जन प्रदान गर्नेछन् । त्यसको तयारी भइसकेको छ ।

सरकारी पक्षलाई वहिष्कार गर्नुको पछाडिको कारण के हो ?
थारु समुदायको मागबारे सरकार र राजनीतिक दलले सुनुवाई नगरेका कारण थारु युवाहरु आक्रोशित छन् । थारुको मागलाई बेवास्ता गर्ने सरकार र दलका नेताहरुलाई हामीले वहिष्कार गर्न खोजेका हौं । यो महोत्सव युवाहरुको महोत्सव हो । युवाहरुकै सक्रियतामा आयोजना हुन गइरहेकाले फरक किसिमको स्वाद पस्कने हाम्रो योजना छ । सरकारले थारुको माग सम्बोधन नगर्दासम्म हामी त्यसको विरोध गर्छौ ।

SAM_6678

महोत्सव मार्फत् तपाईहरुले के सन्देश दिन चाहनु भएको हो ?
महोत्सवलाई आन्दोलन र दवावकोरुपमा मनाउने निर्णय गरेका छौं । थारु समुदाय राज्यबाट पछाडि पारिएको समुदाय हो । नयाँ संविधान जारी भइसकेको अवस्थामा पछाडि पारेको समुदायको अधिकारलाई अझै कटौती गरिएको छ । महोत्सव मार्फत् हामीले सो माग सम्बोधनका निम्ति सम्बन्धित पक्षलाई दवाव दिने र खवरदारी गर्ने सन्देश महोत्सवमार्फत दिन चाहेका छौं ।

तपाईको प्रतिक्रिया