माघ महिना थारु समुदायका लागि विशेष महिना हो । आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक तथा धार्मिक हिसावले यो महिना अन्य महिनाको भन्दा बढी महत्व राख्छ । माघ १ गतेलाई सबै नेपाली समुदायले माघे–संक्रान्तिकोरुपमा मनाउने गर्छन् । त्यसैले यस दिनलाई राष्ट्रिय पर्वकोरुपमा सार्वजनिक विदा दिइन्छ । माघ १ गतेलाई विभिन्न समुदायले विभिन्न रुपले मनाउने गर्छन् । थारु र मगर समुदायले माघ १ गतेलाई अन्य समुदायको तुलनामा अझ बढी महत्वकासाथ लिन्छन् । थारु समुदायको लागि त माघ पूरै महिना विशेष हुन्छ । त्यसैले माघी पर्वलाई थारुले नयाँ वर्षकोरुपमा मनाउँछन् । माघ १ गते थारु परिवारका सबै सदस्यले नदी, खोला, तलाउ, कुण्ड वा पायक पर्ने जलाशयमा गएर अनिवार्यरुपमा स्नानगर्ने गर्छन् । भाले बासेपछि शुरुहुने स्नानकार्य विहान उज्यालोसम्म हुनेगर्छ । यसरी नुहाउने प्रचलनलाई थारुमा ‘माघी लहान’ भन्ने गरिन्छ ।
माघी लहानको आफ्नै महिमा छ । यस दिन सफा र शुद्ध पानीमा स्नान गर्नाले वर्षभरीको शरीरमा लागेको दाग, मयल, घाउ, खतिरा र पापहरु पखालिन्छ भन्ने विश्वास छ । त्यसैले पनि बुढादेखि बालकसम्मका थारु सदस्यहरु माघ १ गते जलाशयमा गएर नुहाउने गर्छन् । यस दिनको स्नानगर्ने कार्यले पुण्य प्राप्ती हुने र पूर्खाको शुभाशीर्वादले वर्षभरी कामहरु बन्ने, सुख र प्रगति प्राप्तहुने विश्वास थारु समुदायमा छ ।
माघी लहान लाई विशेष बनाउन थारु घरका सदस्यले पुसको अन्तिम दिन रातभर जाग्राम बस्ने गर्छन् । रातभरी धुमरु, धमार र डफु बजाएर गीत गाउने तथा रामरमाइलो गर्ने प्रचलन छ । भाले बासेपछिमात्र घरका सदस्यहरु सामुहिकरुपले नुहाउन जलाशयतिर गीत गाउँदै प्रस्थान गर्छन् ।
जलाशयतिर जानु अगाडि घरमूलीले स्नान गर्नजाने सबै सदस्यलाई पैसाको सिक्का बाँड्ने प्रचलन छ । सो सिक्का लिएरै जलाशयतिर जाने र पानीमा डुबुल्की मार्नुअघि नै जलदेवतालाई सो सिक्का चढाएर मात्र थारुहरु स्नान गर्ने गर्छन् । वर्षमा एकदिन पानी खरिद गरी स्नान गर्नाले जलदेवता खुशीहुने र मागेको फल प्राप्त हुने विश्वास थारु समुदायमा छ । चिसो पानीमा नुहाइसकेपछि नजिकको मन्दिरमा गएर देवी देवताको दर्शन गर्ने र प्रसाद बाँड्ने चलन पनि छ ।
माघीमा थारुहरुले गच्छअनुसारको दान र अरुलाई सहयोग प्रदान गर्छन् । शुद्ध जलाशयमा स्नान गरेपछि घरमा उत्पादित अन्न, चामल, दाल, बजारबाट खरिद गरिएको नून, नगद, जिन्सी तथा लत्ताकपडाका सामानहरु दानगर्ने प्रचलन छ । यस्ता दानहरु विवाह गरी गएका घरकै चेलीबेटी तथा अन्य गरिब, असहायलाई पनि प्रदान गर्ने गरिन्छ । स्नानपछि घरमा आई सबै सदस्यले शुद्ध मनले छोएका चामल, दाल लगायतका जिन्सी तथा नगद सामानहरु नै दानका लागि छुट्याइन्छ । यसरी छुट्याइएको दानरुपी उपहार सामाग्रीलाई थारुमा ‘निसराउ’ भनिन्छ । माघी पर्वमा माइती बोलाइएका विवाहित चेलीबेटीलाई त्यही निसराउ उपहारको रुपमा दिएर घर पठाउने प्रचलन छ ।
उपहारका लागि छुट्याइएको निसराउ चेलीबेटीलाई अनिवार्यरुपले दिनुपर्छ । दान नदिएर घरमै प्रयोग गरेमा त्यसले पाप र अशुभ हुने सोचिन्छ ।
माघ १ गते माघी लहानको दिन हो । त्यसैले पापहुने काम गरिदैन । थारु समुदायमा सुंगुर, बंगुरको मासु खाने प्रचलन छ । अझ माघी पर्वमा त माछा र मासु अनिवार्य नै हुन्छ । तर त्यसकालागि पुसको अन्तिम दिन नै मासु काटिन्छ । विवाहित चेलीबेटीलाई माघ आउनु एक दुईदिन अगाडि नै माइत बोलाइन्छ । माघ १ गते पूर्खाको ढोग, आशीर्वाद लिइसकेपछि सामुहिकरुपमा बसेर मीठो परिकार खाने प्रचलन छ । सुख, दुःखका कुराहरु साटासाट गरी सहयोग र आपसी सद्भावका विषयमा छलफल हुन्छ । सामुहिकतामै परिवार र समाज चलेको हुन्छ । थारु समुदायमा संयुक्त परिवारमा बस्ने प्रचलन छ । त्यसैले दुःख भएपनि सामुहिकरुपमा बाँडेर सामना गरिन्छ । सुख भए सामुहिकरुपमै खुशी मनाइन्छ । यो प्रक्रियालाई निकै लोकतान्त्रिकरुपले हेरिन्छ ।
थारुको मौलिकता बोकेको ऐतिहासिक् पर्व माघी विकासे पर्व हो । यसले ‘मेरो हैन हाम्रो’ भावनाको विकास उत्सर्जन गर्छ । पूर्खाको आशीर्वाद, आफूभन्दा ठूलाको आदर र सानालाई मायागर्ने भावना जागृत गर्छ । वर्षभरि गरिएको मेहनत र प्रगतिबारे समिक्षा गरी नयाँ योजना र कार्यक्रम तयार गरिन्छ । वर्षभरिको योजना बनाएर त्यसको कार्यान्वयनको आधारहरु तयार गरी, स्रोत र साधनको बाँडफाँड गर्ने थारु समुदायको प्रचलन आफैमा नमूना छ ।
नेतृत्व चयनः
थारु समुदायले परापूर्वकालदेखि लोकतान्त्रिक प्रक्रियाको अंगीकार गर्दैआएको समुदाय हो । घरको नेतृत्वकर्ता घरमुली हुन्छ । गाउँको नेतृत्वकर्ता बरघर हुन्छ । गाउँभरीको सूचना प्रवाहकर्र्ता चिरक्या हुन्छ । हुलाकीको कामगर्ने चौकीदार हुन्छ । घरदेवता चलाउने घरगुरुवा हुन्छ । गाउँभरीको देवता हेर्ने केसौका, बड्का गुरुवा हुन्छ । धेरै गाउँको देवता हेर्ने देशबन्ध्या हुन्छ । फलामको काम गर्ने, कपडा सिलाई गर्ने सबैको जिम्मेवारी तोकिन्छ । पाएको जिम्मेवारीअनुसार सबैले भूमिका निर्वाह गर्नुपर्छ । जिम्मेवारी गरेअनुसारको सबैको वार्षिक पारिश्रमिक तोकिएको हुन्छ । कोही नगदमा लिन्छ त कसैले उत्पादित अन्न लिनेगर्छ । माघी पर्वपछि सोही महिनामा सबैको पारिश्रमिक सामुहिकरुपमा कचहरी बसी चुक्तागर्ने प्रचलन छ ।
माथि उल्लेखित यी सबै पदकालागि सामुहिक निर्णय अनिवार्य हुन्छ । सकेसम्म व्यक्तिको सक्रियता र परिपक्वता हेरी सर्बसम्मत उम्मेदवार छानिन्छ । त्यसो सम्भव नभए लोकतान्त्रिक प्रक्रियाअनुसार मतदान गर्ने वा गोलाप्रथाबाट पनि टुङ्ग्याउने प्रचलन छ । जिम्मेवारी दिंदा महिला र पुरुषलाई बरावरी मूल्याङ्कन गरिन्छ । महिलाले घरको जिम्मेवारी, गाउँको जिम्मेवारी लिन तयार हुन्छ भने महिलाले पाउँछ । कुनै घरको घरमुली महिला हुन्छ, कुनै घरको पुरुष । कुनै गाउँको बरघर महिला हुन्छ भने कुनै गाउँको पुरुष । कुनै गाउँको बरघर गैरथारु भएको पनि उदाहरण छ । गाउँको भेला र सामुहिक छलफलले जे निर्णय गर्छ, त्यही सबैलाई मान्य हुन्छ ।
माघीमा राम–रमाइलो
पुसको अन्तिम दिनबाट शुरुहुने थारु गाउँको माघीपर्व करिब साताभरी मनाइन्छ । पहिलोदिन माघेसंक्रान्ति, दोस्रोदिनलाई ‘खिच्रहुवा’ पर्वकोरुपमा मनाइन्छ । खिचडी भात पकाएर खाने प्रचलनलाई खिच्रहुवा भनिएको हो । माघीमा मघौटा नाच नाची साताभरी रमाइलो गरिन्छ । गाउँका केटाकेटी, उमेरले अधवैसे तथा बुढाबुढीको अलग–अलग समूह बनाई सामूहिक नाचगान गरेर रमाइलो गर्छन् । नाचले हप्ता दिनसम्म गाउँ नै गुञ्जयमान हुन्छ । माघीमा मघौटा, छोक्रा, हुरडंग्वा, झुमरा लगायतको नाच नाचिन्छ । यसोगर्दा एकातिर सामाजिक सदभाव कायम हुन्छ, अर्कोतिर संस्कृतिको जगेर्ना पनि हुन्छ । कृषिकाममा बढी संलग्न थारु समुदायले चाडपर्वमा जमेर मनोरञ्जन गर्छन् । त्यसले थकानलाई मेट्छ भन्ने बुझाई सो समुदायका अगुवाहरुको छ ।
माघीमा मघौटा, छोक्रा, हुरडंग्वा, झुमरा लगायतको नाच नाचिन्छ । यसोगर्दा एकातिर सामाजिक सदभाव कायम हुन्छ, अर्कोतिर संस्कृतिको जगेर्ना पनि हुन्छ । कृषिकाममा बढी संलग्न थारु समुदायले चाडपर्वमा जमेर मनोरञ्जन गर्छन् । त्यसले थकानलाई मेट्छ भन्ने बुझाई सो समुदायका अगुवाहरुको छ ।
थारु समुदायले माघीमा प्रायः साली भिनाको गीत गाउँछन् । ती गीतहरु महाभारतको गाथासँगै मेलखाने हुन्छन् । कृष्ण र राधाको प्रेम, राम र सीताबीचको प्रेम, द्रौपडीको गाथालाई पनि गीतमा लयबद्ध गरेर साली–भिना एकापसमा जिस्किने र रमाइलो गर्ने गर्छन् । साताभरी रमाइलो गरेर बाँकी दिनमा गाउँको हरहिसाव गर्ने, कुलोपानी, सिंचाई, सडक बत्तिको व्यवस्थापनका लागि छलफल र निर्णयहरु गर्ने गरिन्छ । योजनाहरु बनाएर पारित गर्ने काम पनि माघ महिनामै हुन्छ ।
थारुहरु माघीको अतिरिक्त, दशैं, तिहार, होली, अतवारी, जितिया, सिरुवा, कृष्णाष्टमी, गुरिया, छठ, भजहर, शित्तरजुर, लगायतका पर्वहरु धुमधामसँग मनाउने गर्छन् ।
सुधारको पाटो
विगतमा माघी थारुका लागि अभिसाप जस्तै थियो । कमैया र कम्लहरी राख्ने प्रचलन माघीबाटै शुरुहुन्थ्यो । वि.सं. २०५७ साल साउन २ गते तत्कालिन सरकारले कमैयालाई मुक्त घोषणा गरेपछि कमैयाप्रथाको अन्त्य भयो । २०७० साउन ३ गते कमलहरी प्रथा अन्त्यको घोषणा पनि सरकारले ग¥यो तर त्यसको प्रभावकारी कार्यान्वयन आजसम्म हुन सकेन । छोरीलाई स्कूल पढ्न पठाउने बेलामा कामकालागि अरुको घरमा काम लगाइने प्रथा कमलरी प्रथा हो । जो अद्यापि छ । गरिबी र जनचेतनाको अभाव कमलरी राख्नुको मूल कारण हो । शिक्षा नै सबै समस्याको औषधि हो । त्यसैले थारु समुदायमा विद्यमान कमलरी प्रथाको अन्त्यकालागि थारु समुदाय स्वयम् अग्रसर हुनुपर्छ ।
थारु समुदायमा जाँड र दारु नभए पाहुनाको सत्कार हुन्न भन्ने गलत सोचाई छ । इष्टमित्र तथा पाहुनालाई सत्कारगर्ने, स्वागत गर्ने अन्य विकल्प भन्दा जाँर र दारुमै जोड दिइन्छ । थारु घरको देवताले पनि जाँड र दारु लिन्छन् भन्ने जनविश्वासले जडो गाडेको छ । यसमा तत्काल रुपान्तरणको खाँचो छ ।
माघी पर्वमा सार्वजनिक विदादिने प्रचलन सरकारले वि.सं २०५९ सालबाट शुरुग¥यो । सोही वर्षदेखि काठमाडौं उपत्यकामा बसोबास गर्ने थारुले माघी महोत्सव मनाउन शुरुगरे । ०६४ सालदेखि सरकारले माघीलाई राष्ट्रिय पर्वको हैसियत प्रदान ग¥यो । तर थारुलाई छुट्टै विदा प्रदान गरेन । यस समुदायकाले माघीलाई नयाँ वर्षकोरुपमा मनाइने हुनाले थारु कर्मचारीलाई थप दुई दिनको विदाको व्यवस्था सरकारले गर्नसके सो समुदायलाई अपनत्वबोध हुन्छ ।
२०६४ चैत २८ गते निर्वाचन भई पहिलो संविधानसभा गठन भएको थियो । तर पहिलो संविधानसभाले संविधान दिन नसकेर ०६९ जेठ १४ मा अवसान भयो । पुनः २०७० मंसिर ४ गते अर्को संविधानसभाको निर्वाचन भयो । २०७२ असोज ३ गते नयाँ संविधान जारीभयो ।
२०६४ चैत २८ गते निर्वाचन भई पहिलो संविधानसभा गठन भएको थियो । तर पहिलो संविधानसभाले संविधान दिन नसकेर ०६९ जेठ १४ मा अवसान भयो । पुनः २०७० मंसिर ४ गते अर्को संविधानसभाको निर्वाचन भयो । २०७२ असोज ३ गते नयाँ संविधान जारीभयो । अहिले नयाँ संविधान कार्यान्वयनको चरणमा छ । तर तराईका अधिकांश थारु मधेसी समुदाय आन्दोलित छन् । नयाँ संविधानमा राज्यको सबै तहमा समानुपातिक समावेशीताको प्रतिनिधित्वको माग उनीहरुको छ । जुन मागको सम्बोधन दलका नेता र सरकारले गर्न सक्नुपर्छ ।