क्यास्पीन क्रिकेट प्रतियोगिता धनगढीमा सुरु


Cricket

धनगढी, फागुन ५ गते । वुधवारदेखि धनगढीमा निमावि स्तरीय क्यास्पीयन कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । धनगढीमा रहेको क्यास्पीयन एकेडेमीले हरेक वर्ष आयोजना गर्दै आएको क्यास्पीयन कपको चौथो संस्करण वुधवारदेखि सुरु भएको हो ।

धनगढी उच्च माविको खेल मैदानमा सुरुभएको प्रतियोगिताको कैलाली क्षेत्र नम्वर ६ का सांसद पुष्करनाथ ओझाले उद्घाटन गर्नुभयो ।
प्रतियोगीतामा धनगढीको ऐश्वर्य विद्या निकेतनले विजयी सुरुवात गरेको छ । आज भएको उदघाटन खेलमा धनगढीकै ग्यालेक्सी उच्च मावीलाई १० विकेटले पराजीत गर्दै ऐश्वर्य विद्या निकेतनले विजयी सुरुवात गरेको हो ।

टस जितेर व्याटीङ गरेको ग्यालेक्सीले निर्धारीत १२ ओभरमा ५५ रन बनायो । ग्यालेक्सीका लागि सौरभ चौधरीले सर्वाधीक १८ रन जोडे । ५६ रनको विजयी लक्ष्य सहित मैदानमा उत्रिएको ऐश्वर्यले ५ ओभरमा बिना विकेटको क्षतिमा लक्ष्य भेटाएको हो ।
बुधबार हुने भनिएको पञ्चोदय र धनगढी सिटी स्कुल वीचको खेल भने केहि विवाद देखिएपछि विहिबारका लागि सारिएको आयोजकले बताएको छ ।

प्रतियोगितामा २५ वटा विद्यालयहरुले भाग लिएका छन् । नकआउटको आधारमा खेलाइने प्रतियोगिताका उत्कृष्ट तीन टोलीलाई नगद ३० हजार पुरस्कार दिइने आयोजकले जनाएको छ । विजेताले १५ हजार, उप–विजेताले १० हजार र तेस्रो हुने टीमले ५ हजार नगद हात    पार्नेछन् ।

तपाईको प्रतिक्रिया