होली एउटा महत्वपूर्ण पर्वकोरुपमा तराई र नेपालका मुख्यशहर र गाउँमा होलिका दहनभएको सम्झनामा मनाइने गरिन्छ । रानाथारुका बुढापाका व्यक्तिहरुले भन्ने गर्दछन् —हिरन्यकस्यपुले आफ्नो छोरा प्रल्हाद जो विष्णु भगवानका भक्त तिनलाई मार्नकानिम्ती आफ्नी बहिनी होलिका जसले अग्नीमा नजल्ने बरदान पाएकी थिइन । तिनलाई प्रल्हादलाई आफ्नो काखमा राखेर जलाउने भनि आदेश दिएका थिए । प्रल्हादले पनि आफ्नो बुवाको कुरा नकाटी फुपु होलीकाको काखमा बसे । जब होलिकालाई आगो लगाइयो त्यस समय होलिका जलेर राख भइन् भने प्रल्हादलाई अग्निले केही पनि गर्न सकेनन् । त्यस दिनदेखि असत्यमाथि सत्यको विजय भयो भनेर होरीपर्व रानाहरुले मनाउने गर्दछन् ।
रानाथारुहरुले होरीपर्वलाई सबैभन्दा लामो पर्वकोरुपमा मनाउँछन् । यो पर्व एक महिना आठ दिनसम्म मनाउने चलन रहेको छ । होरीपर्व माघ पूर्णिमाको दिन शुरुभई फागु पुर्णिमासम्म होरीका गीतहरु गाउँदै, नाच्दै मनाउने गरिन्छ । फागु पुर्णिमाको दिन होरीदहन गरी आठ दिनसम्म मान्यजनका घरमा होरीको गीत गाउँदै, नाच्दै दिउसो मनाउने चलन रहेको छ ।
होरी कसरी मनाइन्छः
माघ पूर्णिमाको दिन जवान केटाहरु भल्मन्साको घरमा जम्मा हुन्छन् । तिनीहरु पुजाका सामग्री जसलाई भेट भनिन्छ । ती सबैका घरबाट उठाएर जम्मा गरेको हुन्छन् । ती सामग्री लिएर भल्मन्सासँग गाउँको दक्षिणपट्टी जहाँ होली राख्ने गरिन्छ त्यस ठाउँमा गई भेट राखेर भल्मन्साले भर्राको मद्दतले पुजागरी होरीलाई आव्हान गरी राख्ने चलन छ । होरीराख्दा भेटका साथसाथै कन्डा (गुइठा), टिटरो (सुकेका मकैका, तोरीका डाँठ), दाउरा इत्यादी राखी थुपारेर पुजागर्ने चलन रहेको छ । पुजा सकेपछि त्यहीबाट होरीको गीत गाउँदै भल्मन्साको घरमा १÷२ घण्टासम्म गीत गाउँदै नाचेर शुरुवात गर्ने चलन रहेको छ । यसरी हरेक दिन राती केटाकेटीहरु मान्यजनका घरमा गर्छ । १÷२ घण्टा होरीको गीत गाउँदै नाच्ने चलन रहेको छ । हरेक दिन दाउरा, कन्डा, टिटरो होरी राखेको ठाउँमा गई थुपार्ने चलन रहेको छ । फागु पूर्णिमाको दिन गाउँका मान्छेहरुले आ–आफ्नो घरबाट पिठो र भेट उठाउँछन् र भल्मन्साको घरमा जम्मा भई पुरी पकाउने चलन छ । राती भएपछि गाउँको भल्मन्सा भर्रा, चाकर र गाउँका केटाहरु मिली होरी राखेको ठाउँमा जान्छन् ।
हरेक दिन दाउरा, कन्डा, टिटरो होरी राखेको ठाउँमा गई थुपार्ने चलन रहेको छ । फागु पूर्णिमाको दिन गाउँका मान्छेहरुले आ–आफ्नो घरबाट पिठो र भेट उठाउँछन् र भल्मन्साको घरमा जम्मा भई पुरी पकाउने चलन छ । राती भएपछि गाउँको भल्मन्सा भर्रा, चाकर र गाउँका केटाहरु मिली होरी राखेको ठाउँमा जान्छन् ।
होरीमा दाउराहरु राखी अग्लो ढिस्का बनाउँछन् र त्यसमा महिलाहरुले लगाउने पहिरन लगाइदिन्छन् अथवा विभिन्न रंगका चिरहरु लगाइ पुजा गर्छन् । पुजामा सबैले उठाएर ल्याएको भेट जसमा (ल्वाङ्ग, घिउ, इत्यादि) राखी पुजा गर्छन् । अगियारी (होम्) गरी सबै जनाले होलिकालाई आव्हान गरी होरीको पुजा सकाएर त्यसमा आगो लगाउने चलन रहेको छ र त्यसपछि त्यहीबाट गीत गाउँदै भल्मन्साको घरमा १÷२ घण्टासम्म होरीको गीत गाउँदै नाच्ने गर्दछन् । त्यसदिनलाई खिच भन्ने चलन रहेको छ र त्यसदिन गाउँको ताल वा नदीमा माछामार्ने चलन पनि छ । त्यसदिन गाउँको कुनै पनि घरका व्यक्तिले जोत्न नपाइने (हलो नजोत्ने अथवा गोइ मचाउने, लढिया हिडाउन नपाउन)े चलन रही आएको छ ।
अर्कोदिन बिहान होरीको टीका मनाउने चलन छ । त्यसदिन बिहानबाट रंग, अबिर खेल्छन् । आफ्ना मान्यजनका घरमा गई अबिर, रंग खेल्ने मीत, सइनारको घरमा गई फगुहा (उपहार) दिने, ससुराली गई साली र सरहजलाई फगुहा दिई रंग अबिर खेल्ने चलन छ । दिउसको समयसम्ममात्र रंग अबिर खेल्छन् । त्यसपछि नुहाइ सरसफाइ गरी नयाँ नयाँ रंगीबिरंगी कपडा गरगहना लगाई भल्मन्साको घरमा जम्मा हुन्छन् । भल्मन्सालाई लिएर होरी दहन भएको ठाउँमा गई सबैभन्दा पहिला भल्मन्साले होरीको टीका (विभुती) लगाउँछ । त्यसपछि अरु सबै जनाले टीका लगाउँछन् र त्यहीबाट होरीको गीत गाउँदै भल्मन्साको घरमा आएर होरीनाच्न थाल्छन् ।
भल्मन्सालाई लिएर होरी दहन भएको ठाउँमा गई सबैभन्दा पहिला भल्मन्साले होरीको टीका (विभुती) लगाउँछ । त्यसपछि अरु सबै जनाले टीका लगाउँछन् र त्यहीबाट होरीको गीत गाउँदै भल्मन्साको घरमा आएर होरीनाच्न थाल्छन् ।
भल्मन्साले त्यसदिन भेली मिठाइ बाँड्ने ख्वाउने र होरीखेल्न आएका सबै जनालाई खाना ख्वाइ पठाउने चलन छ । यसरी आठौ दिनसम्म पालैपालो मान्यजनका घरमा होरीको गीत गाउने र नाच्ने चलन छ । होरीको अन्तिम तथा आठौं दिन खकडेहराको रुपमा मनाउने चलन रहेको छ । खकडेहराको दिन बिहानै अध्याँरोमा हरेक घरबाट केटा मान्छेहरुले फुटेका गाग्रोको टुक्राहरुमा माटोको गुच्चा बनाउने त्यसमा कपासका बिउहरु राख्ने र पुजाका अन्य सामग्री भेटहरु राखी होरीदहन भएको नजिकै भल्मन्सासँग गइ धजालगि पूजा गरेर सबै माटाका गुच्चा फुटाएर आउने चलन छ ।
त्यसपछि तिनीहरु भल्मन्साको घरमा जम्मा भई सबैजना मिली पैसा उठाइ जम्मा गर्छन् र त्यस पैसाले खसी बोका किन्ने र काटेर खाने चलन छ । त्यसदिन पनि रंग र हिलो छ्यापेर होरीखेल्ने चलन रहेको छ । त्यसदिन दिउँसो फेरि चाकर नभएर अरु कुनै मान्यजनको घरमा होरीको गीत गाउने, नाच्ने गर्दछन् र त्यसदिन अनौपचारिकरुपमा होरी सकिएको मानिन्छ । औपचारिकरुपमा होरीलाई चैतको चराइको दिनमा पठाउने चलन रहेको छ ।