के हो चिरै–भजहर ?

दिलबहादुर चौधरी

दिलबहादुर चौधरी

Dil

नेपालमा आदिबासी थारु, संस्कृतिको धनी जनजाति मानिन्छ । यो जातिले बार्है महिना चाडपर्व, तरत्यौहार मनाइरहन्छ । देशमै संस्कृतिको धनी मानिने आदिबासी जनजाति थारुमा कैलाली एक अलग पहिचान बनाएको छ । त्यो अलग पहिचान भनेको यहाँ भएको धेरै थर, उपथर र संस्कृतिको बेजोड संगम हो । यसको मतलब अरु जिल्लामा यस्तो छँदैछैन भन्न खोजेको हैन । फेरि पनि कैलालीमा केहि त्यस्ता थारुहरुका थर छन्, चाडपर्व छन्, जुन अरु जिल्लामा छैन । तपाई कञ्चनपुरमा जानुहुन्छ भने चौधरी, रानाथारु पाउनुहुन्छ भने कैलालीमा चौधरी, राना र कठरिया थारु पाउनुहुन्छ । धेरै ठाउँ, जिल्लामा नमनाउने त्यौहार तपाई कैलालीमा आउनुहुन्छ भने मज्जाले देख्न सक्नुहुन्छ । त्यसमा रमाउन सक्नुहुन्छ । त्यस्तैमध्येको एउटा त्यौहार हो, चिरै । त्यसैले आउनुस् चिरैं त्यौहारबारे यहाँ सानो चर्चा गरौं ।

परिचय
थारु भाषामा चिरैं भनेको चरा, पन्छी हो । चरा स्वतन्त्र हुन्छन् वा हुँदैनन् यो आफ्नो ठाउँमा बहसको बिषय होला । तर एक हिसाबले हेर्ने हो भने चरा, पृथ्वीको एक स्वतन्त्र जीव हो । पंक्षीका बारेमा अध्ययन अनुसन्धान गर्ने चरा बिशेषज्ञहरुका अनुसार चरा एक देशबाट अर्को देशमा रमाउन, केहि समयको लागि पाहुनीखान अर्थात आगन्तुकको रुपमा हिंड्छन् रे । घोरीघोरा तालमा पनि हिउँदको बेला उत्तर एशियाबाट र बर्खा लाग्नेबेला समुन्द्र नजिक बस्ने चराहरु केहि समयको लागि रमाउन आउँछन् भन्ने उनीहरुको अध्ययनले देखाउँछ । चरा सम्बन्धमा हिन्दीमा तमाम गीत पनि छ । मै तो एक पंक्षी हुँ नील गगनका, चल उरजा रे पंक्षी जस्ता । हो, थारु समुदाय पनि चरालाई स्वतन्त्ररुपमा देख्यौ । चेलीबेटीहरु रमाउने यो दिनलाई, त्यौहारलाई समुदायका उदार गुरुवाहरु, भर्राहरु, जानकारहरु, भलमन्सा, बरघर, महतोहरु चिरै, चरै, चिरै भजहर भनी नाम दिए । त्यसैले भन्नैपर्छ, चिरैं त्यौहार कैलालीका थारुहरुले मनाउने एक त्यस्तो बिशिष्ट त्यौहार हो, जहाँ चेलीबेटीहरु नै ग्राह्यहुन्छन् । जसलाई चिरै चरै र चिरै भजहरको रुपमा चिन्ने गर्दछन् । बिशेषतः यो त्यौहारका मूलपात्र कन्या (अबिबाहित) केटीहुन्छन् । दोश्रो, भर्खर बिबाह गरी ससुराल पुगेका नवबिबाहित चेलीहरुपनि यसमा सामेल हुन पुग्छन् । अन्य महिलाहरुलाई रमाउनबाट पनि कुनै रोकटोक हुँदैन । पुरुष भने यसमा सहभागी हुन पाउँदैनन् ।

Vajahar

यस पावन दिनमा थारु चेलीबेटीहरु स्वतन्त्र हुन्छन् । गाउँभरीका चेलीबेटीहरु गाउँबाहिरको बगिया (बगैचा) वा रुखबरिख भएको ठाउँमा जम्मा हुन्छन् । दिल खोलेर हाँसखेल, राहरंगी गर्छन् । चिनजान नभएकाहरुबीच चिनजान हुने गर्दछ । तपाईं कल्पना गर्नुस्, त्यो क्षण, त्यो बाताबरण कति रमाइलो हुन्छ होला ? जब गाउँभरीका चेलीबेटीहरु आफ्नै भेषभूषामा सज्जिन पुग्छन्, एकै ठाउँमा भेला हुन पुग्छन्, तारा चिरौवर, छुर, कोइली दिदी, अत्ता अत्ता पानी गंगा रानी जस्ता खेलहरु खेल्दछन्, नाच्छन्, गाउँछन् र रमाउँछन् । घरका आमा, बुवा, बाजे बज्यै वा अभिभावक त्यस दिन आफ्ना चेलीबेटीहरुलाई खुशी राख्नमा नै तल्लीन हुन्छन् । त्यसैले नै हो, यहाँका थारु बुद्धिजीविहरु यसलाई कन्या स्वतन्त्रता दिवस, सखी दिवस एवं नारी दिवसको रुपमा लिंदै आएका छन् ।

कहिले पर्दछ चिरैं ?
उसो त चिरै त्यौहार, चैत महिनाको ओजरीया (शुक्लपक्ष) को जुनसुकै दिन मनाए पनि हुन्छ । फेरि पनि गुरुवाहरु, जानकारहरुका अनुसार चैत महिनाको ओजरीया (चैत महिनाभित्रै) को अन्तिममा शुक्रबार परोस् वा सोमबार, त्यो नै थारुहरुको चिरैं÷चरैं हो ।

पुराना खेलहरु तारा चिरौवर, कोइली दिदी, छुर, अत्ता अत्ता पानी गंगारानी आदि खेल खेल्दछन् । आआफ्नो उमेर समुह वा साना ठूला कुनै पनि उमेर समुहका केटीहरु दिलखोलेर हाँसखेल गर्दछन्, चिना परिचय गर्दछन्, रमाइलो गर्दछन् ।

के के गर्दछन् चिरैमा
चिरै त्यौहारमा घरका कन्या केटीहरु बिहानै नुहाई धुवाई गरी आफ्नो भेषभूषामा सजिन्छन् । त्यसदिन उनीहरु स्वतन्त्र हुन्छन् र घरको अरु कामसँग मतलब हुँदैन । घरका महिलाहरु नुहाई धुवाई गरी खाना र बरीया (पुरी), खुरमा (त्रिकोण र चौकोण आकारको पुरी) तयार गर्दछन् । खाना खाई, आफ्नो भेषभूषामा सजिएका केटीहरु घरघरबाट निस्कन्छन् र गाउँभन्दा बाहिर बगिया (आँपको बगैचा), बरपीपल वा कुनै रुखबरीख जसको छहारी हुन्छ, जुन छहारीमा गाउँभरीका केटीहरु बस्न सक्छन्, रमाउन सक्छन्, खेल्न सक्छन्, त्यसलाई रोज्छन् र त्यहाँ आश्रय लिन्छन् । त्यहाँ उनीहरु पुराना खेलहरु तारा चिरौवर, कोइली दिदी, छुर, अत्ता अत्ता पानी गंगारानी आदि खेल खेल्दछन् । आआफ्नो उमेर समुह वा साना ठूला कुनै पनि उमेर समुहका केटीहरु दिलखोलेर हाँसखेल गर्दछन्, चिना परिचय गर्दछन्, रमाइलो गर्दछन् । उनीहरु एकदम स्वतन्त्र हुन्छन् । सडकमा गई बाटोमा आउनेजाने मान्छेलाई रोकी स्वैच्छिक दानदक्षिणा पनि लिन सक्छन् । खेतमा भएको चना, केराऊ पनि खान सक्छन् । त्यसदिन कन्याहरुलाई दान दक्षिणा दिंदा, खुशीपार्दा देवीदेवता खुशी हुन्छन् र दानदक्षिणा दिनेको श्री, सम्पत्ति, अमनचयन, यशमा बृद्धि हुन्छ भन्ने आममान्यता छ । कन्याहरुले खाएको बाली घट्दैन, त्यसमा बर्कत (लक्ष्मीदेवीको कृपा) आउँछ भन्ने मान्यता छ ।

रामायणमा जसरी राम, लक्ष्मण, भरत, शत्रुघनको बालापनबाट काक भुसुण्डी मन्त्रमुग्ध हुन्छन्, किंकर्तव्यबिमुढ हुन्छन्, दशरथ पुत्रहरु र काकभुसुण्डीको लुकामारी खेलबाट देवताहरु लालायित हुन्छन् ।

त्यसदिन घरका चेलीबेटीहरुलाई दुख लाग्ने, चित्त दुःखाउने कुनै कुरा गर्नुहुँदैन, उनीहरु खुशी रहे, देवी देवता खुशी रहन्छन् । रोगब्याध लाग्दैन । आपत्ति पर्दैन भन्ने आममान्यता भएकोले उनीहरुलाई खुशी राख्नु हरेक अभिभावक आफ्नो कर्तव्य ठान्दछन् । चेलीबेटीहरु भोकभोकै नरहून् भनी घरका आमा, काकी, बज्यै वा कुनै पनि नातापर्ने महिलाले उनीहरुका लागि मिझनी (दिउँसोको खाना, नास्ता), पानी लिएर उनीहरु भएको ठाउँमा जान्छन् र खुवाउँछन्, पिवाउँछन् । स–साना नानीहरुलाई ख्याल गरिदिन्छन्, यसो गर्नु, खेल्नु, झगडा नगर्नु, सिकाउँछन्, सम्झाउँछन् र आफू पनि बालापनको दृश्यावलोकन गरी धन्य हुन्छन् । रामायणमा जसरी राम, लक्ष्मण, भरत, शत्रुघनको बालापनबाट काक भुसुण्डी मन्त्रमुग्ध हुन्छन्, किंकर्तव्यबिमुढ हुन्छन्, दशरथ पुत्रहरु र काकभुसुण्डीको लुकामारी खेलबाट देवताहरु लालायित हुन्छन् । त्यसैगरी मिझनी दिनजाने आमाहरु, अभिभावक महिलाहरु, चेलीबेटीहरु खेलेको, रमाएको देखेर मन्त्रमुग्ध हुन्छन् । त्यतिबेलाको क्षणले, बाताबरणले आमाहरुलाई मात्र होइन, स्वर्गका देवीदेवताहरु पनि मनथाम्न सक्तैनन् । खुशी हुन्छन्, मोहित हुन्छन् र अदृश्यरुपमा उनीहरुसँग रमाउँछन् । आशिर्बाद दिन्छन्, कृपा गर्दछन् भन्ने जानकारहरुको बिश्वास छ ।

त्यसैले चिरैं त्यौहार, त्यो पावन त्यौहार हो, जसले केटीको आवश्यकता र महत्व दर्शाउँछ । जुन घरमा केटी हुँदैनन्, त्यो घरलाई त्यस दिन केटीको अभाव खट्किन्छ । चेलीबेटी नभएका घरले कास ! मेरो घरमा एकजना चेलीबेटी भएको भए म पनि पठाउँथे भनी पछुताउने गर्दछन् । कतिपयले छरछिमेक वा ईष्टमित्रका चेलीबेटीलाई बोलाई, खानपिन, पोशाकको ब्यबस्था गरेर आफ्नो घरकोतर्फबाट पनि चिरै भजहरमा प्रतिनीधित्व गराउँदछन् ।

चेलीबेटीहरु गाउँबाहिर जम्मा भैसकेपछि गाउँले पुरुषहरु गुरुवालाई लिएर चेलीबेटीहरुभएको ठाउँतिर जान्छन् र पुजा गर्दछन् । यस सम्बन्धमा कैलालीको पूर्बी क्षेत्रमा बसोबास गर्ने गुरुवा सोमै गुरुवा भन्छन्, “चिरैंमा पूजागर्दा ७ धजा (ध्वजा), ७ खप्पर, तीर धनुष, काजल, सिन्दुर, धूप, १ दिया, छाँकी (दारु, पानी वा ल्वाङ, पानी), गाईको दूध आवश्यक हुन्छ, यसमा देवीदेवता र ७ बहिनिया (दुर्गा, कालिका, मरी, घोटैली, आदि ७) र उनीहरुको ७ लहराको पुजा हुन्छ । दिउँसो एकचोटी पुजा हुन्छ र साँझ पुनः पुजागरी बाटोमा नघान (बाटोमा आगो बालेर नाघिने कार्य) काटी चेलीबेटीहरुलाई घरघर जाने अनुमति दिइन्छ ।” गुरुवाले पुजागर्दा मन्त्र पढी चारैदिशा, आकाश र पातालतिर धनुषबाण चलाउँदछन् । जसले रोग, ब्याध, दुःखबिमार, अनिष्टको नाश गर्दछ र गाउँ समाजमा सुख शान्ति छाउँछ भन्ने जनबिश्वास छ ।

हिन्दूहरुको ब्राम्हन, मुश्लिमको मूल्ला, क्रिश्चियनहरुको पादरीजस्तै थारु समुदायको देवी–देवताको पूजा गर्ने, गाउँ समाजलाई रोगब्याध, भूतप्रेत, अनिष्टबाट बचाउने भनी हरेक गाउँमा गुरुवा हुन्छ । गाउँ हेर्नेलाई भुईहार भनिन्छ ।

ऐतिहासिक पक्ष
हिन्दूहरुको ब्राम्हन, मुश्लिमको मूल्ला, क्रिश्चियनहरुको पादरीजस्तै थारु समुदायको देवी–देवताको पूजा गर्ने, गाउँ समाजलाई रोगब्याध, भूतप्रेत, अनिष्टबाट बचाउने भनी हरेक गाउँमा गुरुवा हुन्छ । गाउँ हेर्नेलाई भुईहार भनिन्छ । थारु समुदायमा जब भुईको सृष्टि भयो, मानव सृष्टि भयो । त्यसैबेलादेखि भुईहार पनि सृष्टि भए भन्ने भनाई छ । चिरै सम्बन्धमा पुर्खाहरुको, जानकारहरुको, गुरुवाहरुको भनाई छ, ‘परापूर्वकालमा कुनै गाउँमा दुःखबिमार एवं ठूलो बिपत्ति आइप¥यो । त्यतिबेला गाउँका भलमन्साले गुरुवालाई बोलाएर गाउँलाई ठीक पार, सुखशान्ति कायम गर, अन्यथा तिमीलाई पनि सजाय हुन्छ भन्दा गुरुवाले गुरैपाटी शुरुगरे । गुरुवा जानकार थिए । उनले रातभरी लगातार गुरैपाटी गरे, आछतबीराहेरे । ध्यानलाई केन्द्रित गरी पुनः पाटीमा बसे र पुजाबिधि पत्ता लगाए । देबी–देवतासँग प्रार्थना गरे, भाकल गरे कि हे देवी, हे देव, मेरो गाउँ गिराउँको रक्षा गर, कुनै गल्तीभए माफ गर ।

चैत शुक्लपक्षको अन्तिममा शुक्रबार वा सोमबार जो परोस्, त्यो अन्तिम दिनमा यहाँहरुको म पुजा गर्छु, गराउँछु । देवी रुप कन्याहरुको सम्मान गर्छुु । सपनामा पनि उनले देवी देवताबाट आदेश पाए । चैत महिनाको शुक्ल पक्षको अन्तिममा शुक्रबार, सोमबार, जुन परोस् । त्यो अन्तिम दिन पुजाको लागि उत्तम हुन्छ, पुजा गर, चेलीबेटीको सम्मान गर । बिहान भलमन्साले गुरुवालाई सोधे के गर्नुपर्छ गुरुवा महाराज । गुरुवाले भने भलमन्सा ज्यू ‘भोली चैत महिनाको शुक्लपक्ष र अन्तिममा शुक्रबार परेको छ, गाउँभरीका अबिबाहित चेलीबेटीहरुलाई सोर्हो सिङ्गार गरेर गाउँबाहिरको बगिया, बगैचा, बर, पिपल, पकडिया छहारी भएका रुखहरु तल जम्मा हुन लगाउनुपर्छ । उनीहरुलाई खुशी पार्नुपर्दछ, उनीहरु खुशीभए भने देबी खुशी हुन्छन् । गाउँलेले कन्याहरुको सम्मानमा कञ्जुस्र्याई गर्नुहुँदैन । एकदिन उनीहरुको खुशीको लागि छुट्टयाउनुपर्दछ । गुरुवाले भने अनुसार भल्मन्साले गाउँलेहरुलाई गर्न लगाए र गाउँमा सुखशान्ति छायो । त्यसबेलादेखि चिरै÷चरै÷चिरै भजहरको शुरुवात भएको हो । त्यसैले अभिभावकहरु चिरैको दिनमा कन्याहरुलाई खुशी राख्नु आफ्नो कर्तव्य ठान्छन् । उनीहरुलाई दानगर्नु नारीको सम्मान ठान्छन् । उनीहरुले बाटो छेक्दा रित्तो हात फर्काउँदैनन् । बिशेषतः यो पर्ब कन्याहरुको स्वतन्त्रताको दिन भएकोले जानकारहरु यसलाई कन्या स्वतन्त्रता दिवस, सखी दिवसको रुपमा पनि अथ्र्याउने गरेका छन् ।

चिरै भजहर बिशेषतः चेलीबेटीहरुको पर्व हो । यो त्यौहारको उदय गराउने गुरुवा पक्कै पनि नारीवादी थिए भन्न करै लाग्छ ।

अन्तिममा के भन्न सकिन्छ भने चिरैं÷चरै÷चिरै भजहर बिशेषतः चेलीबेटीहरुको पर्व हो । यो त्यौहारको उदय गराउने गुरुवा पक्कै पनि नारीवादी थिए भन्न करै लाग्छ । चेलीबेटी घरको चूलो, चौका, घरधन्दा लगायतका बन्धनमा बाँधिनुपर्ने, यताउता स्वतन्त्र रुपले घुम्न नपाउने अवस्थामा गुरुवाले सोर्हो श्रृङ्गारको भाकल गर्नु, उनीहरुलाई हाँसखेल गर्ने बाताबरण तयार गरिदिनु पक्कै पनि नारीहरुको स्वतन्त्रताको अधिकारलाई संरक्षण र सम्बद्र्धन गर्नु हो । तर कतिपय गाउँमा यसलाई चेलीबेटीहरुले नै बिकृत बनाए । कतिपय गाउँमा आफूलाई जानकार ठान्नेहरु बिकृत बनाए । बाटो छेक्ने, जबर्जस्ती रकम टोकेर माग्ने, नदिन चाहने ब्यक्तिलाई दबाब दिने, कसैको खेतबारीमा चना केराऊ भए बढी नै खाइदिने कार्यले कन्या दिवस, सखी दिवस बिकृतीको रुपमा पनि देखियो । त्यसैले यसलाई राम्रो बनाउने कार्य तपाई हामी सबैको हो । जिम्मेवार ब्यक्ति सबैको हो । यसलाई मान्ने, मनाउने हरेकले चाडपर्वप्रति जिम्मेवार बन्नुपर्छ । हाँसखेल, राहरंगी गर्नुपर्छ । रकमको लागि दबाब दिन हुँदैन । हरेक जानकार ब्यक्ति, सचेत ब्यक्तिहरुले चेलीबेटीहरुको सम्मान गर्न पछि पर्नुहुँदैन । उनीहरुको सम्मानबिना घरमा, गाउँमा शान्ति हुन सक्तैन भन्ने कुरालाई बिर्सन हुँदैन । कतिपय मित्रहरु फागुनमा मनाउने चालचलन चैतमा मनाउने, चैतमा मनाउने परम्परालाई बैशाखमा धकेल्ने गरेका छन् । यसरी महिनालाई बदलेर, धकेलेर संस्कृतिको संरक्षण र सम्बद्र्धन हुँदैन । परम्परालाई तोडमरोड गरेर संस्कृतिको आफ्नो पन रहँदैन । यसमा सबैको ध्यान जान आवश्यक छ ।

तपाईको प्रतिक्रिया