जूरशीतल पर्वको महिमा

ई. लक्ष्मीनारायण चौधरी

ई. लक्ष्मीनारायण चौधरी

Laxminarayan

परिचय
जूरशीतल नेपालको थारु समुदायमा मनाइने एउटा विशुद्ध पानी, आशीर्वाद, उत्साह, उमंग, उल्लास र मनोरन्जनको त्योहार हो । चन्द्रतालिका अनुसार यो पर्व अप्रिल महीनाको १३ वा १४ तारीकमा (तदनुसार बैशाख १ गतेमा) पर्दछ र नयाँ वर्षको शुभारम्भ हुन्छ । सम्पूर्ण नेपाल देशभरि बैशाख १ गतेलाई नयाँ वर्षको रुपमा अपनाइन्छ भने थारु समुदायले यसलाई एउटा विशेष चाडकोरुपमा मनाएको देखिन्छ । उनीहरुले यसलाई सिरुवा पावैन वा सिरुवा भन्ने गर्दछन् किनभने यो पर्व प्रत्येक वर्षको शुरुमै आउँदछ र प्रथम स्थानमा स्थापित रहन्छ । हाल नेपालमा थारु समुदाय नजिक रहेका तराईमा बसोवास गर्ने अन्य समुदायका मानिसहरुले पनि यो पर्व मनाउने गर्दछन् । जूरशीतलको शाब्दीक अर्थ हुन्छ — पानीले चिसो पार्नू । अतएव नामांकरण अनुसार जूरशीतल एउटा विशुद्ध पानीको चाड हो । एकअर्कामाथि पानी छर्केर मनाइन्छ ।

स्मरणिय छ यो पर्व थारु समुदायमा मात्र सीमित छैन् बरु थेरावाद बुद्धधर्म भएका एशियाली देशहरुजस्तै थाईलैन्ड, म्यान्मार, लाओस, कम्बोडिया र श्रीलंकामा समेत यो पर्व बडो धुमधामकासाथ पानी छर्केर मनाईन्छ । तर विभिन्न नामले । थाईलैन्डमा यो सबैभन्दा ठूलो राष्ट्रियपर्वको रुपमा ३ देखि ४ दिनसम्म र श्रीलंकामा एक सप्ताहसम्म अत्यन्तै हर्षोल्लास र भव्यताकासाथ मनाइन्छ । यस पर्वलाई थाईलैन्डमा सोंक्रान, म्यान्मारमा थिनग्यान, लाओसमा पीमाइ लाउ, कम्बोडियामा चौलचांम थ्यें, श्रीलंकामा आलुथ अवुरुदु भन्ने चलन छ ।

उत्पति
जूर जूर एउटा थारुशब्द हो जसको अर्थ हुन्छ चिसो । स्वाभाविकरुपमा सबैभन्दा चिसोपनको प्रभाव पानीबाट नै गर्न सकिन्छ । वास्तवमा जूरशीतल, थिनग्यान वा सोंक्रान भनेको सूर्यको प्रवेश नक्षत्रमण्डलको मेषराशीको सीमा क्षेत्रमा हुनु हो । तुलनात्मकरुपमा हेर्ने हो भने यो जूरशीतल चीनको चिङमिङ, भारतवर्षको होली, आसाम (भारतकोे) बिहु र क्रिश्चियन चाड ईस्टरजस्तै वसन्तऋतको आगमनसंगै नयाँवर्षको उल्लासपूर्ण आगमन हो ।

ईतिहास
थारु समुदायमा यस चाडसँग सम्बन्धित अत्यन्तै रोचक कथा सुनाइंदै आएको पाइन्छ । कथा यस प्रकार छ । प्राचीनकालमा एकादेशमा एकजना अत्यन्तै ज्ञानी बहुभाषिक ज्ञाता तथा जनावर र चरा चरुङीसमेतको भाषा बुझ्ने राजकुमार थिए । भनिन्छ, उनको त्यो विद्वताले स्वर्गमा रहेको एकजना ‘कपील’ भन्ने देवतालाई डाह उत्पन्न भयो । कपील भन्ने देवता पथ्वीमा आए र राजकुमारलाई शर्तसहित तीनवटा अप्ठ्यारा प्रश्नहरु राखे । शर्तअनुसार यदि राजकुमारले सात दिनभित्रै तीनवटै प्रश्नहरुको जवाफ दिन सकेन भने राजकमारको गर्दन काटिने तर तीनवटै प्रश्नहरुको सही जवाफ दिन राजकुमार सफल भएमा देउताले आफनो टाउको काटेर दिने ।

जूरशीतलको शाब्दीक अर्थ हुन्छ — पानीले चिसो पार्नू । अतएव नामांकरण अनुसार जूरशीतल एउटा विशुद्ध पानीको चाड हो । एकअर्कामाथि पानी छर्केर मनाइन्छ ।

अन्य लोककथाझैं राजकुमार त्यस्ता कठीन प्रश्नहरुको जवाफ दिन किंकत्र्तव्यविमुढ भए । हार खाएर बेइज्जत भएर बाँच्नुभन्दा मर्नु जाती भन्नेकुरा राजकुमारले मनमनै सोंच्दै आत्महत्या गर्न एउटा ठूलो अग्लो रुखमुनि उभिन पुगे । त्यस रुखमाथि एउटा चील पन्छीको गँुड थियो । संयोगको कुरो हो, रुखमुनि उभिएको आत्महत्या गर्न हिडेको राजकुमारले आमा चीलले आफना चूजा चीलहरुलाई सान्त्वना दिदैं गरेको कुरा सुने । चूजा चीलहरु “भोक लाग्यो भोक लाग्यो” भनी खानाको लागि कराउँदै थिए । आमा चीलले तिमीहरु आत्तिनु पर्दैन् । धेरै छिटो नै तिमीहरु तल उभिएको नौजवान मान्छेको मासु खाएर कृत्यकृत्य हुनेछौ, भनिन् ।

तल उभिएको नौाजवान तीनवटा कठीन पहेलीहरुको जवाफ दिन असफल हुनेछ र आत्महत्या गर्न बाध्य हुनेछ । त्यस कुराकानीको सिलसिलामा आमा चीलले चुज्जा चीललाई देउता र राजकुमार बीच भएको शर्तको कथा सुनाईन । चुज्जाहरुको प्रश्नको जवाफमा तिनले ती तीनवटा कठीन प्रश्नहरुको उत्तर पनि बताईन । रुखमनि उभिएका राजकुमारले तीनवटै प्रश्नहरुको सहीउत्तर पाएर मनमनै रमाए र केही नबोली त्यहाँबाट घरतिर लागे । तोकिएको दिन र समयमा राजकुमारले देउतालाई तीनटै प्रश्नहरुको सहीउत्तर दिन सफल भए । कथानुसार देउता बाजीमा पराजित भए र शर्त अनुसार देउताले आफनो टाउको काटेर राजकुमारलाई दिए । तर देउताको टाउको अत्यन्त नै अचम्भको थियो । किनभने सो टाउकोलाई पृथ्वीमा राख्दा असीमित आगोको ज्वाला प्रज्वलित हुने । समुद्रमा राख्दा समुद्र सुक्ने भयो । पहाडमा राख्दा पहाड जलेर खरानीमा परिणत हुनेभयो । अतएव ती समस्याहरुको समाधान गर्न कपील देउताको सात बैनी छोरीहरुले सधैंकालागि पालैपालोसँग बाबुको सो टाउको बोकी एउटा धुरीमा मेरु पर्वतको वरिपरि घुम्न थाले । सो टाउको बोक्ने पालो छोरीहरुको माझ प्रत्येक १ बर्षमा आउने भयो र यो जूरशीतलको दिनमा अर्की बैनीले अगामी एक बर्षसम्म टाउको बोक्ने जिम्मेवारी लिने भयो । यसरी यो क्रम दोहरिन थाले ।

समानता
थाईलैन्डमा ७ बर्ष र श्रीलंकामा ४ बर्ष कार्यगरी फर्केका यो पंक्तिकारले नेपालको थारु समुदायमा प्रचलित जूरशीतल पर्वको लोककथा र थाईलैन्डमा प्रचलित सोंक्रान कथासँग तुलनागर्ने प्रयास गरेको छ । थाईलैन्डका प्राध्यापक र इतिहासकार खुन अनुमोन राजधोनद्वारा लिखित – थाइ संस्कृति संग्रह—५ (१९५०) सोंक्रानको कथाअनुसार देउताको टाउको स्वर्गको कुनै गुफामा राखिन्छ र सोंक्रानको दिनमा कपील देउताका सात बैनी छोरीहरुमध्ये एउटीले स्वर्गका असंख्य अन्य देवीदेवताहरुसँग सो टाउको बोकी जुलुसमा, सूर्यले पर्वत मेरुलाई परिक्रमा गरेझैं घुम्छन् । त्यस जुलुस परिक्रमापछि टाउकोलाई पुनः गुफाभित्र राखिन्छ र अर्को बर्ष त्यहीं सोंक्रानको दिनमा फेरि टाउको बाहिर ल्याउछन् । यसरी क्रम दोहरिन्छ । थाई कथामा कपील देउतालाई कबील महांफ्राम भनिएकोे छ ।

म्यान्मारको थिनज्कयान कथानुसार बाजीमा टाउको गुमाउने देउताको नाम आसी ब्रह्मा उल्लेखित छ । सात बैनीहरुमध्ये एउटीले सधैंभरि टाउको बोकेर हिडने गर्छिन् र सोंक्रानको दिनमा पालो तोकिएको बैनीले आएर बाबुको टाउको अर्को एक बर्षको लागि बोक्ने गर्छिन् । यसरी क्रम दोहरिन्छ । मोरातुवा विश्वविद्यालय (२००९) श्रीलंकाका प्राध्यापक डा. निमाल डिस्लिभाको अनुसार श्रीलंकामा पनि यस्तै कथा   सुनिन्छ ।

ज्योतिषशास्त्र
वस्तवमा यो कथा सौर मंडलको हो । कपील, कबील महां फ्राम वा आसी ब्रह्माको टाउको अरु कोही नभएर आफै सूर्य हुन् । सात बैनी छोरीहरु कोही नभएर सप्ताहका सात दिनहरु हुन् । सांच्चै भन्ने हो भने त्यो वेलादेखि नै प्राचीनकालका मानिसहरुले सौरमंडलको गहनतम् अध्ययन गर्न शुरु गरिसकेका थिए । शायद त्यही नै समय र भाग्यको गणना गर्ने ज्योतिषशास्त्रको श्रीगणेश थियो ।

तीन प्रश्नहरु
देउताले सोधेको तीन कठीनतम् पहेलीहरु यसप्रकार थिए । निम्न समयमा मानिसको भाग्य (राशि) कहाँ बास गर्छ ? (१) प्रभातकालमा (२) मध्यान्हमा र (३) रातिमा । सही उत्तर क्रमशः यसप्रकार थिए— (१) अनुहारमा (२) जिउमा (३) खुटामा ।

मनाउने तरीका
जूरशीतलको अघिल्लो दिन थारु समुदायका मानिसहरु आ—आफना घरआंगन, चोक, इनार, पाटीपौवा, मठमन्दिर सफासुग्घर पार्दछन् र विभिन्न किसिमको स्वादिलो र मिठो परिकारहरु तयार पार्दछन् । आउने नयां वर्ष —अर्थात् जूरशीतलको दिनमा खानका लागि । यसरी अघिल्लो दिन तयार गरिएको मिठोखाना अर्को एक सालकोलागि खानपुग्छ भने आउने नयाँवर्षमा अन्नको परिपूर्णता रहिरहन्छ भन्ने जनविश्वास छ । यो पर्वको दिनमा थारु समुदायका मानिसहरु एकअर्कामाथि पानी छर्केर आशीर्वाद लिने र दिने गर्दछन् । ठूलाले आफूभन्दा सानाहरुको टाउकोमा पानी छर्केर आशीर्वाद दिन्छन भने सानाहरुले आफूभन्दा ठूला बडाको गोडामा पानी राखेर ढोगगरी आशीर्वाद लिने गर्दछन् । यस्तो गरेमा आउने नयाँवर्ष उल्लासमय, शीतल, सफल र फलदायी हुने विश्वास गरिन्छ । यस पर्वको महत्व यसैबाट प्रष्ट हुन्छ ।
थाईलैन्डमा यो दिनमा प्रातःकालदेखि नै बाल, युवा र बृद्धहरु नयाँ लुगा लगाउने गर्छन । आ—आफनो गाउँ वा क्षेत्रमा भएका वाट (मन्दिर), पाटीपौवा र बिहार सफागर्ने् र भिक्षुकहरुलाई मिठो खाना खुवाउने गर्दछन् । सोहीदिन अपरान्हमा भगवान बुद्धको मूर्तिलाई स्नानगर्ने र वाट, मठ र विहार पानीले सफागर्ने काम गर्दछन् । यसपछि शुरुहुन्छ पानी छर्केने त्योहार—सोंक्रान । यसैगरी नै म्यान्मार, लाओस, कम्बोडिया र श्रीलंकामा नयाँवर्ष शुभारम्भ हुन्छ ।

निष्कर्ष
बुद्धधर्मको संगसगै यो पर्व नेपाल, भारत, श्रीलंका हुँदै एशियाली देशहरु थाईलैन्ड, म्यान्मार, लाओस र कम्बोडियामा हजारौ वर्षअघि प्रवेश गरेको थिया । भोगौलिक र सामाजिक दूरी भए पनि प्रत्येक देशमा यो चाड प्रत्येक वर्ष एउटै समय र एउटै दिनमा पर्दछन् । एउटै लोककथा र एउटै पानी छर्केर मनाउने तरिका संगालेको देखिन्छ । निष्कर्षमा जूरशीतल, थिनग्यान, पीमाइ लाउ, आलुथ अवरुदु र सोंक्रान वास्तवमा सबै एउटै हुन, एउटै कथा बोकेको, एकैनासको महत्व बोकेको, एकैनासकै संस्कति झल्किन्छ । नामको मात्रैे भिन्नता छ । यसले प्रमाणित गर्दछ कि संस्कृति कहिल्यै मर्दैन । बरु फक्रिएर आउँछ ।

सप्ताहका सातवटा दिनहरुको नाम ग्रहहरुमो नामबाट लिइएको देखिन्छन् र विश्वभरी नै यसको प्रभाव मािनसहरुका जीवनमा देखा पर्दछ । सांच्चिकै यो पर्वलाई राम्ररी संरक्षण र सम्बर्धन गर्न सकियो भने यसले विभिन्न देशहरुबीचमा अझै थप सामाजिक, सांस्कृतिक, भातृत्व र आपसी समझदारीको विकासमा टेवा पु¥याउने छ ।

तपाईको प्रतिक्रिया