जनयुद्ध लडेकाहरु कोही भए मालामाल, यता चौधरीको छ बेहाल


धनवीर महतो
महोत्तरी, मङ्सिर २० गते। चौध वर्षअघि महोत्तरीको फुलकाहा–८ का ४९ वर्षीय हरिनारायण चौधरी खुब परिवर्तनका कुरा गर्थे । देशमा जनताको शासन ल्याउनुपर्छ भन्थे । बन्दुक बोकेर परिवर्तनका लागि दशवर्ष जनयुद्ध लडे । देशमा राजतन्त्र फेरिएर गणतन्त्र आयो । तर जनयुद्ध लडेका घाइते भई अपाङ्ग भएका हरिनारायणको कथाव्यथा सुन्ने कोही भएन ।

नेताहरू देशमा गणतन्त्र ल्याएर जनयुद्धका नाइके अहिले सरकारको शासनको नेतृत्वमा छन् । त्यसकैलागि लडाइँ लडेका हरिनारायण अहिले लठ्ठीको सहारामा छन् । दाहिने हातमा औँला काटिएका छन् । बायाँ खुट्टामा औँला छैन । हिँडडुल गर्न र उनलाई खाना खान पनि समस्या छ ।

हरिनारायण अहिले लठ्ठीको सहारामा छन् । दाहिने हातमा औँला काटिएका छन् । बायाँ खुट्टामा औँला छैन । हिँडडुल गर्न र उनलाई खाना खान पनि समस्या छ ।

चौधरी जन्मजात अपाङ्ग होइनन् । उनलाई चिकित्सकले उपचारकाक्रममा उनको औँला काटेका थिए । वि.सं. २०५९ मा तत्कालीन माओवादी पार्टीका जनमुक्ति सेनामा कार्यरत थिए चौधरी ।

सिरहाको बन्दिपुरमा शाही सेनासँग उनले भीडन्त गरेका थिए । सोहीक्रममा गोली लागि घाइते भए । सो समयपछि उनको जीवनको सहारा नै बाँसको लठ्ठी बन्न पुगेको छ ।

देशमा २०६३ साल मङ्सिर ५ गते बृहत् शान्ति सम्झौता भएको एक दशक बितेपनि उनको घाउमा मलम लगाउन सिंहदरबारका सरकार उनको गाउँ आएको छैन । पटक पटक माओवादी पार्टीले सरकारको नेतृत्व पनि गरिसक्यो । तर उनलाई हेर्न कोही आएनन् ।

हरिनारायण आफू सुकुम्बासी छन् । २०६७ मा ‘ग’ वर्गको अपाङ्गता परिचयपत्र उनले पाए । तर उनले अपाङ्गता सुरक्षा भत्तापनि पाइरहेका छैनन् । ‘क’ वर्गलाई मात्र सरकारले सुरक्षाभत्ताको व्यवस्था गरेको छ ।

श्रीमती, दुईजना छोरा र एक छोरी रहेको उनको परिवार मजदुरीको भरमा चल्दैछ । श्रीमतीले बनिबुतो गरेर हरिनारायण र छोराछोरीलाई पाल्दै आएका छन् ।

 आफूहरूजस्तो अरूको सहारामा बाँच्ने अपाङ्गलाई सरकारले उचित व्यवस्था गर्नुपर्ने हरिनारायणको माग छ । उनी भन्छन्– “अपाङ्गलाई योग्यता एवम् काम गर्नसक्ने रोजगारीको व्यवस्था गर्नुपर्छ । हजारौँ अपाङ्गलाई अरूको सहारमा बस्नुपर्ने अवस्थाको भने अन्त्य हुनैपर्छ ।”
त्यस्तै आत्मबल भए आत्मनिर्भर बन्न अपाङ्गता बाधक होइन भन्ने उदाहरण प्रस्तुत गरेका पात्रहरू समाजमा प्रसस्त भेटिन्छन् । उनीहरूको काम र आत्मविश्वास अरूका लागि पनि अनुकरणीय हुने गरेको छ ।

तपाईको प्रतिक्रिया