उत्साहजनक उच्च शिक्षा हासिल गर्दै थारु समुदायका मुक्त कमलरीहरु


दिवाकर पोखरेल
देउखुरी, पुस ३ गते । कुनै समय अर्काको घरमा काम गरेर जीवन गुजारा गर्दैआएका पूर्वकमलरीहरुले अब भने आफ्नो शैक्षिक योग्यताको विकास गर्न थालेका छन् । कमलरी जीवन त्यागेसँगै आफूले निर्णय लिने स्वतन्त्रता पाएका पूर्व कमलरीहरु सामान्य मात्र नभएर उच्च शिक्षामा अध्ययन गर्न थालेका हुन् ।

विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको पहलमा पूर्वकमलरीहरुले शिक्षा क्षेत्रमा प्रगति गर्न थालेका छन् । लमही नगरपालिका सतवरिया निवासी विष्णु चौधरी पूर्वकमलरी हुनुहुन्छ । उहाँले शिक्षा सङ्कायमा स्नातकोत्तर तहसम्मको अध्यन पूरा गरिसक्नुभएको छ । अहिले कानुन विषय लिएर पनि स्नातक तह दोस्रो वर्षमा अध्ययन गरिरहनुभएको छ । लमही घर भए पनि कुनै समय उहाँले घोराही बजारको एउटा घरमा भाँडा माझ्ने काम गर्नुहुन्थ्यो ।

‘परिवारका अन्य दिदीबहिनी पनि अरुकै घरमा भाँडा माझ्ने र गोठालो जाने काम गर्थे, पढाइदिन्छु भनेर साहूले घरको काम गराउन लगे तर पढ्नेभन्दा काम धेरै गर्नुपथ्र्यो,’ पूर्व कमलरी विष्णुले भन्नुभयो । कमलरी जीवन त्यागेपछि २०६१ सालमा दाङकै राप्ती मावि उचानिम्बुमा भर्ना भएर उच्च शिक्षासमेत लिइरहनुभयो । उहाँ एक प्रतिनिधि पात्र मात्र हो । उहाँजस्तै पश्चिम नेपालका धेरै मुक्त कमलरी उच्च शिक्षामा अध्ययनरत छन् ।

मुक्त कमलरी विकास मञ्चले दिएको जानकारी अनुसार अहिलेसम्म कमलरी मुक्त गरिएको जिल्ला दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका १० जना मुक्त कमलरी स्नातकोत्तर तहमा अध्ययनरत छन् । १९१ जना स्नातक तहमा अध्ययनरत छन् । यस्तै, ६८६ जना दस जोड दुई र २९६ जना कक्षा १० जना अध्ययनरत छन् । जसमा, दाङमा ४८७, बाँकेमा ६७, बर्दियामा ३९५, कैलालीमा ४३३ र कञ्चनपुरमा १५१ जना विद्यालय तहमा अध्ययन गरिरहेका छन् । विकास मञ्चका अनुसार दाङ देउखुरीमा सबैभन्दा बढी पाँच हजार पाँच सय मुक्त कमलरी छन् ।

कुनै समय नारकीय जीवन बिताए पनि मुक्त भएपछि उच्च मनोबलका साथ पढाइलाई निरन्तरता दिएका मुक्त कमलरीलाई सरकारले भने प्रतिबद्धता जनाएअनुरुपको सहयोग नगरेको गुनासो गर्छन् । मुक्त कमैया विकास मञ्चका अध्यक्ष शान्ति चौधरीले विपन्न अवस्थाका मुक्त कमलरीलाई अझै पनि सरकारले सम्झौता गरे अनुसारको शिक्षामा छात्रवृत्ति नदिएको गुनासो गर्नुभयो ।

मुक्त कमलरीले अध्ययनार्थ स्नातक तहमा वार्षिक दस हजार, प्रवीणता तहमा पाँच हजार, मावि तहमा एक हजार आठ सय तथा प्रावि र निमाविसम्मलाई एक हजार पाँच सय रुपियाँ छात्रवृत्ति पाउँदै आएका छन् ।
गोरखापत्र बाट साभार

तपाईको प्रतिक्रिया