थारु संस्कृतिबाट अरु समुदायले पाठ सिके समाज रुपान्तरण हुन्छ


हमार पहुरा डट कम
धनगढी, फागुन १८ गते । थारु अगुवा तथा संस्कृतिका जानकारहरुले थारु परम्परा तथा संस्कृतिबाट गतिलो पाठ सिक्ने सके समाज रुपान्तरणमा जाने विश्वास व्यक्त गर्नुभएको छ । विश्व साहित्य महोत्सवको आफ्नै इतिहासः आफ्नै परम्परा शीर्षकमा वहस गर्ने क्रममा वक्ताहरुले सो विश्वास व्यक्त गर्नुभयो ।

सुदूरपश्चिमको धनगढीमा फागुन १४ देखि २० गतेसम्म आयोजना हुने कार्यक्रममा शनिबार प्यानल डिस्कसनमा वक्ताहरुले भन्नुभयो, “थारु समुदाय संस्कार र संस्कृतिमा अथाह धनी छ, त्यसबाट अन्य समुदायले पाठ सिक्न सक्ने हो भने समाज रुपान्तरण सम्भव हुन्छ ।”

पूर्व राज्यमन्त्री तथा थारु संस्कृतिविद महेश चौधरीले थारु संस्कृति आफैमा अनुपम भएकाले त्यसबाट अरु समुदायले पनि फाइदा लिन सक्नुपर्ने बताउनुभयो । तराईका भूमिपुत्र थारु समुदाय नै अगुवा समुदाय भएकाले अगुवाबाटै पाठ सिक्दा कोही सानो नहुने उहाँले बताउनुभयो । नेपालमा मधेस भूमि नरहेको तर्क गर्दै उहाँले तराईलाई मधेस नामाकरण गरेर गल्ति भइरहेको तर्क गर्नुभयो ।

पत्रकार तथा संस्कृतिका अनुसन्धाता लक्की चौधरीले थारु समुदायमा छुवाछुट नहुने, महिनाबारी हुँदा महिलालाई घरबाहिर नपठाउने बल्की भातभन्सा चल्ने, गाईको दुध खाएर बाटोमा छाडा नछाड्ने समुदाय थारु रहेको बताउनुभयो । संयुक्त परिवारमा बसोबास गर्ने हुनाले थारु समुदायमा ज्येष्ठ नागरिकलाई बृद्धाश्रममा कहिल्यै पठाएको उदाहरण नरहेको भन्दै उहाँले यस्तो पाठ थारु समुदायबाट अन्य समुदायले सिक्न सके समाज रुपान्तरण हुन्छ भन्नुभयो ।

राना समुदायकी अगुवा जीवन रानाले राना समुदायको आफ्नै भाषा, भेषभुषा, संस्कार तथा संस्कृति रहेकाले पहिचान खोज्दा अलग सूचीकरण भएको बताउनुभयो । डंगौरा थारुभन्दा अलग पहिचान कायम भएपनि आफूहरु थारु रहेको उहाँले तर्क गर्नुभयो । आदिबासी जनजाति उत्थान प्रतिष्ठानमा अलग सूचीकरण भएर राना समुदायलाई फाइदा भएको उहाँले बताउनुभयो ।

पत्रकार लखन चौधरीले सहजीकरण गरेको प्यानल डिस्कसन कार्यक्रममा थारु अगुवाहरुले थारुको मौलिक साहित्य, परम्परा र संस्कृतिको दस्तावेजीकरण आवश्यक रहेको बक्ताहरुले बताउनुभयो । थारु इतिहास लेखनमा थारु समुदाय स्वयम् अग्रसर हुनुपर्ने सुझाव पनि उहाँहरुको छ । सो अवसरमा तीनैजना वक्तालाई आयोजक संस्था सुदूरपश्चिमाञ्चल साहित्य समाजले दोसल्ला तथा सम्मानपत्रले सम्मानित गरेको थियो ।

तपाईको प्रतिक्रिया