थारु आन्दोलन न उठ्नु हम्रै कमजोरी होः प्रमुख सचेतक चौधरी


SAM_3091

योगेन्द्र चौधरी
प्रमुख सचेतक– फोरम (लोकतान्त्रिक)

थारु आन्दोलन अहिले करिब बन्दप्रायः छ । थारुको माग पूरा भएर हो कि शक्ति क्षयीकरण भएर हो ? त्यो थारु आन्दोलनकर्मीले बुझ्ने कुरा हो । थारुले उठाएको माग पूरा भएको हो भनौं भने नयाँ संविधानमा थारुको अलग पहिचान र समानुपातिक समावेशीकरणको आधारमा राज्यको निकायमा प्रतिनिधित्वको विषय बाहेक अर्थोक सम्बोधन भएको छैन । थारुले उठाउँदै आएको प्रमुख माग मध्ये थरुहट प्रदेशको माग रत्तीभर सम्बोधन भएको छैन । तथापि थारु अगुवा तथा आन्दोलनकर्मीले सो विषयमा अहिले बोल्न हिच्किचाइरहेका छन् । कतिपयले विजयकुमार गच्छदार नेतृत्वको फोरम (लोकतान्त्रिक) सरकारमा गएकैकारण थारु आन्दोलन तुहियो भन्ने आरोप लगाउँछन् । कतिपयले टीकापुर घटनापछि थारु आन्दोलन तितरवितर भयो भन्छन् । कतिपयले थारुको आन्दोलन उठ्न नसकेकाकारण सरकारले वेवास्ता ग¥यो भन्छन् । सरकारसँग गत भदौ ३१ गते वार्ता भएको थियो । सो पछि कुनै वार्ता र छलफल भएन । थारु आन्दोलन उठ्न नसक्नाको कारण के हो त ? के यसको औचित्य अब समाप्त भयो ? यस विषयको चिरफार गर्न थारु नेता तथा फोरम (लोकतान्त्रिक) का प्रमुख सचेतक योगेन्द्र चौधरीसँग पत्रकार लक्की चौधरीले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

थारु आन्दोलनको औचित्य समाप्त भएकै हो त ?
औचित्य समाप्त भएको होइन । आन्तरिक विवादका कारण केही मत्थर भएको मात्र हो । कतिपय मागहरु सम्बोधन भएको छ, त्यसलाई उपलब्धीकोरुपमा लिन सक्नुपर्छ । नयाँ संविधानमा थारुको अलग पहिचान पहिलो पटक सुनिश्चित् भएको छ । समानुपातिक समावेशी सिद्धान्तको माग पूरा भएको छ । सीमाङ्कनको विषयमा पनि राजनीतिकरुपले छलफल र वहस जारी नै छ । थारुबीचको आपसी एकता कायम हुन नसक्नु नै ठूलो समस्या हो । यसमा हामी नेतृत्वकर्ता पनि चुकेका छौं । थारु आन्दोलन तुहिनुमा हामी नेतृत्वकर्मी स्वयम् जिम्मेवार हुनुपर्छ । थारु आन्दोलनलाई उचाईमा लग्न फेरि आन्दोलनको समिक्षा गरेर नयाँ ढंगले अगाडि बढ्नुपर्छ ।

थारु आन्दोलन तुहिनुमा कारक फोरम (लोकतान्त्रिक) हो भन्छन् नि ?
यो गलत हो । राजनीतिमा आरोप प्रत्यारोप हुन्छ । सरकारमा जाँदा हामी आठबुँदे सहमति गरेर गएका हौं । थारुको माग सम्बोधन गराउनकै निम्ति सरकारमा गएका हौं । सरकारमा भएपनि सरकार, सडक र सदनमा हाम्रो संघर्ष जारी छ । फोरम (लोकतान्त्रिक) आन्दोलन तुहायो भन्ने आरोपमा कुनै दम छैन । हामी निरन्तर थारुको मुद्दामा लागिरहेका छौं । संयुक्तरुपमा अगाडि बढ्ने वातावरण बनाउनमा लाग्नुपर्छ । आपसमा आरोप प्रत्यारोप गरेर थारु आन्दोलनलाई बलियो हैन, कमजोर बनाइरहेको छ ।

थारुको माग अहिले मधेसवादी आन्दोलनरत दलले उठाइरहेका छन् ? थारु कहाँ गए ?
थारु आपसमा विभाजित भएकै परिणाम हाम्रो माग मधेसी आन्दोलनले उठाइरहेको छ । यसको पछाडिको कारण थारु आन्दोलन उठेकैकारण मधेसले हाम्रो माग उठाउन बाध्य भएको हो । थारुको मागमा मधेसले बोल्नु सकारात्मक पक्ष हो । हिजोसम्म मधेसीले थारु, थरुहट सुन्न चाहेकै थिएनन् । आज हाम्रो मागमा सहमत भएर हाम्रोलागि दवाव दिइरहेका छन् भने त्यसलाई सकारात्मकरुपमा लिनुपर्छ । हाम्रो आन्दोलन तुहिएकोजस्तो देखिनु दुःखदपक्ष हो । नयाँ शीराबाट फेरि अगाडि बढ्न आवश्यक छ ।

केही दिन सरकार र थारुबीच वार्ता भएको थियो, अहिले कहाँ पुग्यो ?
ग्राउण्डबाट सबैभन्दा बढी उठ्ने प्रश्न पनि यही हो कि थारु नेतृत्वकर्ता कहाँ गए ? वार्ताका लागि सरकारले दुई तीन चरणमा पत्र पठाएको हो । एक दुई चरणमा वार्ता पनि भयो । तर त्यसको कुनै औचित्य पुष्टि भएन । थारु वार्ता टोलीका संयोजक धनीराम चौधरी अहिले अर्धभूमिगत हुनुहुन्छ । एउटा कर्मचारीलाई थारु कल्याणकारिणीसभाको नेतृत्वमा पु¥याउनु ऐतिहासिक गल्ती भयो । सरकारको सामान्य कर्मचारीको नेतृत्वको संयोजकत्वमा देशको कार्यकारी प्रमुखसँग छलफल गर्नु, वार्ता गर्नु त्यति सान्दर्भिक भएन । थारु वार्ता टोलीबीचमै विवाद छ । छलफल र समन्वय पनि हुन सकिरहेको छैन । आपसमै समन्वय नभएपछि वार्ता त हुने कुरै भएन । अवस्था गम्भीर छ ।

थारु छिन्नभिन्न भएर सरकारलाई दवाव पुग्ला त ? अब आन्दोलन कसरी जाला ?
थारुको माग मुद्दामा विश्लेषण र छलफल नै हुन सकिरहेको छैन । एकआपसमै हामी छिन्न भिन्न छौं । वार्ताटोलीबीच समन्वय नै छैन । कहाँ को के गरिरहेको छ ? त्यो पनि थाहा छैन । थारुको माग सम्बोधन गर्नकालागि थारु एकता अनिवार्य छ । यो विषय सबैलाई थाहा छ तर एक ठाउँमा आउने वातावरण बन्न सकिरहेको छैन । थारु एक्लैले लडेर अब थारुको माग पूरा होला जस्तो पनि लाग्दैन । थारु, मधेसी, अन्य आदिबासी जनजातिको संयुक्त पहलमा, सयुक्त आन्दोलनले मात्रै अब शासकसत्तालाई झुकाउन सक्ला जस्तो लाग्छ ।

टीकापुर घट्नामा पक्राउ परेकाहरुलाई छुटाउने प्रयास के भइरहेको छ ?
टीकापुर घटनामा निर्दोस व्यक्ति पक्राउ परेर जेलमा छन् । यसमा हाम्रो गम्भीर आपत्ति हो । मन्त्रिपरिषद बैठकले पक्राउ परेकालाई छोड्ने निर्णय भइसकेको छ । केही प्रक्रिया पु¥याउन मात्र बाँकी छ । हाम्रो पार्टीको नेतृत्वसहित पूरै पार्टी लागेको छ । चाँडै छुट्नुहुन्छ भन्नेमा म विश्वस्त छुँ ।

थारु मधेसीको सहकार्यको विषय कहाँ पुग्यो ?
सहकार्य अपरिहार्य थियो, छ । तर केही थारु नेताका विवादकाकारण सँगै अगाडि जानसक्ने वातावरण बनेन । खासगरी एमाओवादीका थारु सांसदले यसमा विरोध गरेपछि सँगैजाने वातावरण बन्न सकेन । थारु आन्दोलन कमजोर हुनुमा थारु नेतृत्वकै कमजोरी छ । जिल्लास्तरमा कार्यकर्ता र थारु प्रतिनिधिहरु आन्दोलनका लागि तयार हुँदा पनि नेतृत्वले आन्दोलन अगाडि बढाउन सकेन ।

अब थारु कसरी अगाडि बढ्ने ?
थारु आन्दोलन आजै सकिने विषय होइन । विगतको आन्दोलनकै परिणाम नयाँ संविधानमा थारुको केही माग पूरा भयो । त्यसलाई सकारात्मकरुपमा लिंदै थप माग पूरा गराउनका निम्ति संघर्षका कार्यक्रमहरुलाई निरन्तर अगाडि बढाउनुपर्छ । थारु समुदाय अब छिन्नभिन्न भएर अगाडि बढ्न सक्दैन । अधिकार प्राप्तगर्ने विषय निकै चुनौतिको विषय हो । थारु समुदाय अझै हार मानेको छैन । शासकसत्ताका विरुद्धमा नियमित संघर्ष गर्नुपर्छ । हाम्रो माग पूरा नहुँदासम्म विश्राम लिनु हुन्न । सबैको पहल र सक्रियताले मात्रै माग सम्बोधन हुन्छ ।

प्रस्तुतिः लक्की चौधरी

तपाईको प्रतिक्रिया