मोफसलको ज्ञान र शिविरमा रमाउँदा

सुशील चौधरी

सुशील चौधरी

Sushil

ज्ञान के हो ? भनिरहनु नपर्ला, ज्ञान कुनै विषयमा जानकारी हुनु र बुझाई बनाउनु हो जसलाई सैद्धान्तिक र व्यवहारिक सीपकारुपमा वर्गीकरण गर्न सकिन्छ । ज्ञान कसरी प्राप्त हुन्छ त ? ज्ञान जीवन चलाउन जीवनवृत्तिका लागि गरिने श्रमव्यवहारबाट प्राप्त हुन्छ । वाणी, बहस, संवाद, अन्तरक्रिया, अध्ययन अवलोकन र अभ्यास आदि माध्यमवाट प्राप्त हुन्छ । पहिले परिवार र गुरुकुल शिक्षाका माध्यमबाट ज्ञान हासिल गरिन्थ्यो । आजकल सूचना तथा प्रविधिको विकासकाकारण व्यक्तिले ठाउँका ठाउँ आफुले चाहेको विषयमा सामान्य ज्ञान हासिल गर्न सक्दछ । पहिले ज्ञान प्राप्तिकालागि एकान्तवास गर्ने प्रचलन रहेको थियो । बुद्धले बुद्धत्व प्राप्ती गर्न दरवार छाडे । ऋ्षिमुनीहरुले पनि जंगलबास गरेर ज्ञान, विज्ञान, योग, दर्शनका माध्यमबाट सिद्धि प्राप्त गरे ।

मानव समाजको विकासको इतिहास हेर्दा, चिन्तन, मनन, अध्ययन, अनुसन्धान, समालोचलन अर्थात् शास्त्रास्त्रका माध्यमबाट मानव ज्ञानको उन्नयन गर्दैआएको बुझिन्छ । जहाँ, जुन समाजमा देशमा शिक्षा, संस्कृति, कला, दर्शन तथा साहित्यको सिर्जना हुन्छ, त्यसबारे समीक्षा तथा समालोचना हुन्छ । त्यो समाज समुन्नत हुनेगरेको देखिन्छ । सामान्यतः गाउँ, जिल्लाहरु भन्दा शहर र राजधानीहरु केही विकसित हुन्छन् किनकी यहाँ अध्यताहरु चिन्तन, लेखन विचार विमर्श र अनुशीलन गर्दछन् । त्यसैले राजधानीकेन्द्रीत बौद्धिकहरु राजधानी बाहिरको माहौललाई मोफसल भन्दछन् । राजधानी केन्द्रीतहरु मोफसल भन्दा आफु केही उन्नत भन्ठान्छन् । यसैका कारणले होला कतिपय अवस्थाम मोफसललाई दोश्रो दर्जामा राख्ने गरिन्छ । तर यथार्थ केहो भने जतिपनि सत्ता र श्रोतको रापमा रमेका राजधानीवालाहरु सबै मोफसल बाटै गएका हुन्छन् । नेपालमा एकात्मक शासन अर्थात् राजधानीवादको विरुद्धमा जनताले विद्रोह गरे । एकात्मकबाट मुलुक संघात्मकमा पदार्पण ग¥यो । र पनि राजधानीगिरी चिन्तन र प्रवृति हटेको छैन ।

तीनचार महिनाको लामो अन्तरलाप र मानसिक उल्झन पछिआएको दशैंमा सामान्य मल्हमपट्टि लगाउँदै सामान्य हुने चरणमा छु । यसै बीचमा टीकापुर आइलाग्यो, त्यसपछि लामो नाकाबन्दी । यसै बीचमा गाउँ र जिल्लामा घुम्ने, छलफल अन्तरसंवादमा सहभागी हुने अबसर मिल्यो ।

यस वर्षको सुरुवातमै राजधानीलगायत आसपासका जिल्लामा महाभुकम्पले क्षत्विच्छेत बनायो । ठूलो मानवीय भौतिक क्षति भयो । म पनि केही वर्षदेखि राजधानी– मोफसल चाकाचुली गरिरहेको मनुवा धरहरासंगै राजधानीको सपना ढालेर किंकतव्यविमुढ भएर बसिरहेको थिएँ । तीनचार महिनाको लामो अन्तरलाप र मानसिक उल्झन पछिआएको दशैंमा सामान्य मल्हमपट्टि लगाउँदै सामान्य हुने चरणमा छु । यसै बीचमा टीकापुर आइलाग्यो, त्यसपछि लामो नाकाबन्दी । यसै बीचमा गाउँ र जिल्लामा घुम्ने, छलफल अन्तरसंवादमा सहभागी हुने अबसर मिल्यो । ती स्वर्णीम अवसरहरुले मलाई सामाजिक दिशाबोध मात्र गराएनन् । जीउने आधार पनि दिए । यस पटक मैले मोफसलका ज्ञान चिन्तन शिविरमा रमाउँदा प्राप्त गरेका दिव्यदृष्टिका बारेमा विमर्श गर्ने जमर्को गरेको छु ।

कृष्णसार पाठक मञ्च, गुलरियामा भलाकुसारी
दशैपछि केही दिन गृहजिल्ला बर्दियामा आफ्नै काम विशेषले अल्मलिंदा कात्तिक पन्ध्र गते कृष्णसार पाठ मंचको श्रृखलामा पुग्ने योग           जु¥यो । बबई साप्ताहिका सम्पादक मेघराज सिग्देल भाइसंग भेटघाट गर्न बिहान गुलरिया पुग्दा कृष्णसार पाठक मञ्चको श्रृङ्खला होटल मिररमा चलिरहेको रहेछ । थाहा पाउने वित्तिकै म त्यस मौकालाई छोप्न त्यहाँ पुगें । संयोगले मेरा आदरणीय गुरु तथा कवि स्वर्गीय यज्ञप्रसाद सुवेदीको पुन्यतीथिको सन्दर्भ परेकोले वहाँका जेष्ठ सुपुत्र अर्जुन सुवेदी दाईले श्रृङ्खला समायोजना गर्नुभएको रहेछ । बबई बहुमुखी क्याम्पसमा पढ्दा राजनीतिशास्त्र अध्यापन गराउनु हुने गुरु अयोध्याप्रसाद श्रीवास्तबको संयोजकत्वमा गठन र परिचालन भएको पाठक मञ्च पत्रकार मुकुन्द सुवेदी, शिक्षक एवं गायक प्रभात सुवेदी र अर्का उम्दा साहित्यानुरागी प्रकाश पौडेल, बामदेव ज्ञवाली सरको सक्रियता पनि लोभलाग्दो पाएँ । त्यस दिन दर्जनबढी श्रष्टा र श्रोताहरुको जमघट थियो ।

थुप्रै चिनेका साथीहरु नै थिए । त्यहाँ पुग्दा म हर्षविभोर भएँ । बर्दिया धेरै कारणले पिछडिएको वा राजधानीको आँखामा नपरेको गुनासो मनमा बोकिरहेको बेलामा श्रष्टाहरुद्धारा स्वतस्र्फूतरुपमा ज्ञान खाज्ने र बाँड्ने अभ्यासमा लागेको थाहा पाउँदा गर्वले छाति फुल्यो । गुलरिया नगरपालिकाको कवर्डहल पछाडि रहेको पुरानो ज्योति पुस्तकालयको जिर्ण भवन छ की छैन, त्यहाँ संग्रहित पुस्तकहरु बाकी छन् की छैनन् म अनभिग्य छु । तर जाँगरिला युवाहरुको पहलमा सुरु गरिएको श्रृखलामा पाठकहरुले आफूले पढेका कृतिकोबारेमा चर्चा गर्ने परम्परा बसालेको देख्दा गुलरियामा ज्ञानको दियो निभेको छैन भन्ने आभाश भयो । त्यसदिन अमर न्यौपानेको मदन पुरस्कार प्राप्त उपन्यास सेतोधर्ती का बारेमा विशेष चर्चा गरिएको थियो । मैले आफ्नो भर्खरै प्रकाशित कविता संग्रह विरहूल बसिया (विरही बाँसुरी) को कविता  सुनाएँ । यसका साथै अर्नेष्ट हमिंगवेको चर्चित उपन्यासबुढो माझी र समुद्र का बारेमा चर्चा गरें । मैले के पनि भनें भने मध्यपश्चिमकै एक जिल्ला दांगको जिल्ला विकास समिति आयोजक बनेर राष्ट्रिय कविता महोत्सव गर्न सक्दछ भने हामीले पनि किन प्रयास नगर्ने ? हरेक पन्ध्र दिनमा आयोजना हुने त्यो साहित्यिक चिन्तन श्रृखलाको आउँदो कार्यक्रममा मलाई विशेष वक्ता पनि चुनियोख। तर दुःखको साथ भन्नुपर्छ म राजधानीबाट फर्किन सकिन । जे भएपनि मैले कृषसार पाठक मञ्चको उक्त अभियानलाई बर्दिया चिन्ने र चिनाउने महत्वपूर्ण आँखिझ्यालका रुपमा विकसित हुँदै गएको महसुुस गरें । यो श्रृखलाले पक्कैपनि बर्दियाली प्रतिभाहरु जन्माउन कोशेढुङ्गा सावित होला । औपचारिक र अनौपचारिक तहबाट यसको सिको हुनेनै छ ।

सुहेलवामा सवाल्टर्न साहित्य चिन्तन
सवाल्टर्न साहित्यमा विद्यावारिधी गरेका सम्भवत नेपालमा पहिला व्यक्ति हुनपर्छ डा. तारालाल श्रेष्ठ । जसले त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा अंग्रेजी साहित्य पढाउनु हुन्छ । थारु समुदायबारेमा अध्ययन गर्नेक्रममा तिहारको विदामा बर्दियातिर हानिनुभयो । उहाँका कृतिहरु मैले अद्योप्रान्त पढेकोले मैले पछ्याउने लेखक थिए । कंचनपुरकी बहिनी आकृति चौधरी, जो त्रिभुवन विश्वविद्यालयमा अंग्रेजी साहित्य स्नातकोत्तरकी विद्यार्थी हुन् । उनले परिचय गराई दिएकी थिइन् भौतिक रुपमा । दशै अगाडि मेरो पहिलो कविता संग्रह विरहुल बसियाको विमोचनमा मैलै अतिथिको रुपमा डाकेको थिएँ, लेखकलाई । त्यस पछि बढेको मित्रता तिहार लगत्तै गुलरियाको सुहेलवा गाउँ अवस्थित थारु संग्रहालयमा सम्पन्न सवाल्टर्न चिन्तन र थारु साहित्य विषयक छलफलमा पोखियो । विद्धान लेखक श्रेष्ठले आफुले बर्दिया घुम्दा थारु समुदायका बारेमा गरेको अध्ययन र सवाल्टर्न चिन्तनको विमर्श गर्नुभयो । विभेद र बहिष्करणमा परेका रैथाने आदिवासी थारु समुदायको मौनता र इतिहासप्रतिको अज्ञानता बारे प्रश्न पनि गर्नुभयो । वहाँकोे प्रस्तुतिले सभालाई स्तव्ध तुल्याएको थियो । मेरो मनमा पनि आफ्नै समुदायको ज्ञानको भोक जगाउन केही त गर्नु पर्दछ भन्ने प्रतिवद्धता भाव भित्रभित्रै जागेको थियो । मोफसल बारेमा चिन्तन, मनन, अध्ययन र वकालत गर्ने श्रष्टा र प्राज्ञिक व्यत्तित्वहरुलाई निरन्तर ल्याउनु पर्ने महसुस पनि भयो ।

साहित्य सचेतना शिविर, मयुरबस्तीको कमाल
आफ्नो आँखाको कसिंगर आफै निकाल्न कठीन हुन्छ भन्ने भनाई वा व्यवहार नयाँ होइन । मैल बालबिवाहले निम्त्याउने समस्या, शिक्षाको महत्वबारेमा आमरुपमा जति लेखे बोले पनि आफ्नै समुदायमा खासै प्रभाव पार्न नसकिरहेको महसुस छ । सायद सामाजिक संरचना र घरकी मुर्गी –दाल भात जस्तो हुनेकारण कठीन पनि छ । मैले लेखक, कवि, गजलकार र कलाकारहरुका माध्यमबाट सन्देश दिनसक्दा केही प्रभाव पर्ला भन्ने सोचेर देशभरीका थारु लेखक, कवि, कलाकार, साहित्यकारहरुलाई तिहार लगत्तै आफ्नो गाउँ कालिका–३, मयुरवस्तीमा निम्ता गरें, कात्तिक २९ गते । लेखक तथा पत्रकार कृष्णराज सर्वहारी, लेखक छविलाल कोपिला, गजलकार सोम डेमनडौरा, रंगकर्मी तथा सामाजिक अभियन्ता बालिका चौधरी, गायिका सुमित्रा चौधरी, दर्पन कुसुम्या, अनुराग सायर, शिक्षक तथा गजलकार श्याम ‘सराबी’, ठाकुर ‘अकेला’, सीता ‘निश्चल’ लगायत दर्जन बढी श्रष्टाहरुको जमघट भयो । उहाँहरुको सचेतनामुलक प्रस्तुतिको प्रभाव गाउँका सबैजसो व्यक्तिहरुमा परेको पाइयो । एकजना गाउँले भाइले की पठ्ने बेला पढ्ने, खेल्नेबेला खेल्ने, काम गर्ने बेला काम गर्ने गर्नुपर्छ भनेर दिएको सन्देशले केटाकेटी सम्झाउन सजिलो भएको भने । जीवन उपयोगी ज्ञानको प्रचार प्रसार गर्ने यो पनि प्रभावकारी माध्यम हो भन्ने लाग्यो ।

साकार हुँदै सामुदायिक पुस्तकालय खोल्ने सपना
म किताबको किरो बनाउनमा सुरुवातमा प्रकाश कोविद, युधिर थापाका उपन्याशहरु, हिन्दी फिल्मका संवाद सहितको पुस्तकहरुको हात छ । केही सचेतना बढेपछि म्याक्सीम गोर्कीको आमा उपन्यास, लुसुनका कृतिहरु, मोदनाथ प्रश्रितका कृतिहरु, पारिजातका कृतिहरु, गुलबकावलीका कथा, तोता मैनाका कथाहरु पनि मेरा अध्ययन बानी विकासका आधारहुन् । कलेज जीवनमा कलेजका पुस्तकालय मेरालागि ज्ञानकुञ्ज भए । सयालिस् सालपछिको जनउभार पछि हामीले गाउँका यूवाहरु मिलेर पुस्तकालय स्थापना गर्न धेरै प्रयास गरियो । पुस्तकालय स्थापना त भयो तर सुरुमा पाठकहरु भएपनि विस्तारै पाठकहरु घट्दै जाने वर्षदिन नगुग्दै पुस्तक पाठक पनि सक्किने र पुस्तकहरु पनि हराउने अवस्था बन्दै गयो । तर कालिकामा पुस्तकालय स्थापना गर्ने प्रयास भने निरन्तर जारी रह्यो । सितला बजार प्लटिंग हुँदा त पुस्तकालयका लागि जग्गै छु्टयाएर जग समेत हालियो । तर जग भन्दा माथि उठेन पुस्तकालयको भवन । जगको ईटा जगमै अलप भयो । गाविसको कार्यालय परिसरमा टीनले छाएर छाप्रो बनाएर पुस्तकालय संचालन गर्न शिक्षक तथा मयुर युवा क्लवका अध्यक्ष तारानाथ ज्ञवालीले प्रयास गर्नुभयो । केही समय त पुस्तकालय ठीक ठीकै चल्यो, तर पछि त्यसको पनि त्यही हाल भयो । दिनदिनै रेष्टुरेन्ट र मधुशालाहरु खुल्दै गए, पुस्तकालयमा भने ताला लाग्यो ।

कलेज जीवनमा कलेजका पुस्तकालय मेरालागि ज्ञानकुञ्ज   भए । सयालिस् सालपछिको जनउभार पछि हामीले गाउँका यूवाहरु मिलेर पुस्तकालय स्थापना गर्न धेरै प्रयास गरियो । पुस्तकालय स्थापना त भयो तर सुरुमा पाठकहरु भएपनि विस्तारै पाठकहरु घट्दै जाने वर्षदिन नगुग्दै पुस्तक पाठक पनि सक्किने र पुस्तकहरु पनि हराउने अवस्था बन्दै गयो ।

तर सुखद प्रसंग भयो यस पटक, कालिकाका पूर्व अध्यक्ष तथा कालिका पुस्तकालयका अध्यक्ष डिल्ल्ली राम गौतमसंग स्याउलीबजार, पुस्तकालय परिसरमा जम्काभेट भयो । वहाँले पुस्तकालयको भवनको अवलोकन गराउनु भयो । उच्च प्रविधिकासाथ संचालन गरिने पुस्तकालयबारेमा बेलिविस्तार लगाउनु भयो । पुस्तक संकलन र संचालनमा सहयोग गर्न पनि आग्रह गर्नुभयो । आफुले अति दुःखले पुस्तक संकलन गरेर अध्ययन गरेको सम्झना आयो । अबका नयाँ पुस्ताले गाउँघरमै डिजिटल पुस्तकालयमा अध्ययन गर्न पाउने भएकोमा खुशी पनि लाग्यो । मोफसलमा ज्ञानको खोजीगर्ने स्थान बन्न लागेको आनन्द लाग्यो । कालिका सामुदायिक पुस्तकालय कालिकाका लागि मात्र नभएर बर्दिया जिल्लाकै राम्रो भरपर्दो श्रोतकेन्द्र बन्न सक्ने सम्भावना रहेको महसुस भयो । यो परिघटना मेरो लागि अर्को उत्साहप्रद विषय बन्यो ।

एक महिनाको दर्मियानमा यतिका बौद्धिक चिन्तन हुने परिवेशषमा साक्षी हुन पाउँदा ज्ञानको श्रीवृद्धि हुने सन्दर्भमा म अतिनै लाभान्वित  भएँ । जीवन, दर्शन, समाज र संस्कृतिका बारेमा यतिका चिन्तन मनन हुने जिल्ला, गाउँ र समुदाय अब कसैले रोक्न चाहेर पनि पछि पर्न सम्भव छैन भन्ने विश्वास पलायो । सामाजिक विकास र अग्रगतिका लागि चिन्तनशील समुदाय र साथीहरु प्रति सम्मान भाव बढेर आयो । अब बर्दियावासीहरु एक फरक देशदिृष्ट दिन सक्षम छन् भन्ने आत्मविश्वासले मन भरियो । यसका लागि सरकारी गैर सरकारी, औपचारिक अनौपचारिक प्रयास र पहल भने जरुरत पर्ला …………की ।

(लेखकमानवअधिकर क्षेत्रमाक्रियाशील हुनुहुन्छ् ।)

तपाईको प्रतिक्रिया