राज्यभन्दा अधिकार ठूलो हो


Durga paudel

दुर्गा पौडेल
सांसद, राष्ट्रिय जनमोर्चा

वि.सं. २०४२ देखि अनेरास्ववियु (छैठौं) मा प्रवेश गरेपछि राजनीतिमा सक्रिय रहनुभएकी सभासद दुर्गा पौडेल व्यवस्थापिका संसदकी सांसद हुनुहुन्छ । राष्ट्रिय जनमोर्चाको केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमासमेत रहनुभएकी सांसद पौडेल निग्लीहवा –२, कुस्मा, कपिलवस्तुमा जन्मनुभएको हो । वि.सं. २०५७ सालमा अर्धभूमिगत बामपन्थी नेता नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहसँग प्रेम विवाह गरी पारिवारीक जीवन शुरुगर्नुभएकी सांसद पौडेलले राजनीतिक् जिम्मेवारीको प्रेरणा पनि श्रीमान सिंहसँगै सिकेकी हुन् । तथापि उहाँको राजनीतिक जीवन भने आफ्नै दाई शिव पौडेलको प्रेरणाले शुरुभएको थम्याई छ । संघीयताले देशलाई दूरगामी नकारात्मक असरपार्ने धारणा राख्नुहुने सांसद पौडेलले ढिलोचाँडो संघीयताको विपक्षमा नेपाली जनता आउने विश्वास व्यक्त गर्नुहुन्छ । प्रस्तुत छ पौडेलसँग लक्की चौधरीले गर्नुभएको कुराकानीको सारसंक्षेप ः

घरको, पार्टीको र सांसदको जिम्मेवारी निभाउन कत्तिको अप्ठेरो महुशस भइरहेको छ ?
व्यवहारिक जटिलता त छन् नै । तर घर, पार्टी र सासदको जिम्मेवारी फरक–फरक छ । घरको जिम्मेवारी आफ्नो ठाउँमा छ । पार्टीको फरक र सांसदको जिम्मेवारी निश्चिय नै अलग छ । तथापि सबै दायित्व र जिम्मेवारीलाई सहजताकासाथ व्यवस्थापन गरिरहेकी छु । घरपरिवार र पार्टीको राम्रो सहयोगले त्यो सम्भव भइरहेको छ ।

राजनीतिक जीवन कसरी शुरुभयो ? कस्को प्रेरणा पाएर आउनुभयो ?
मेरो दाई शिव पौडेलको प्रेरणाले २०४२ सालमा अनेरास्ववियू (छैठौं) इकाइ समितिमा प्रवेश गरेकी हुँ । २०४५ सालमा अखिल नेपाल महिला संघकी केन्द्रीय समिति सदस्य (दोस्रो सम्मेलनबाट) भएँ । त्यसपछि २०६२ सम्म अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्षको जिम्मेवारीमा रहँदै एकदशक बढी समय विताएँ । जिल्लामा कामगर्ने क्रममा कलाकार टिममा पनि काम गरें । राष्ट्रिय जनमोर्चाको पोखरामा भएको सम्मेलनबाट उपाध्यक्षको जिम्मेवारीमा आएँ । त्यो भन्दा पहिले सदस्य मात्रै थिएँ ।

पार्टीको केन्द्रीय उपाध्यक्ष र सांसदको जिम्मेवारी निभाउन गाह्रो छैन ?
यसमा चुनौति र अवसर दुवै छ । काम गर्दैजाँदा गाह्रो–साह्रो त हुन्छ नै । तर पनि त्यसलाई सहजताकासाथ लिएर काम गरिरहेकी छु । परिवारको राम्रो सहयोग मिलेको छ । पार्टी पंक्तिको राम्रो सहयोग प्राप्त भएकैकारण चुनौतिसँग सामना गर्न सकिरहेकी छु । श्रीमान (मोहनविक्रम सिंह) ले राम्रो सहयोग गरिरहनु भएको छ । उहाँको साथ, समर्थन र सहयोगले पनि चुनौतिसँग सामना गर्न सहज भइरहेको छ । दुईवटा बच्चा छन् । उनीहरुको लालनपालन गर्न र राजनीतिक संगठनात्मक जीवन निभाउन चुनौति त हुन्छ नै तथापि श्रीमान्को लगनशीलता र प्रेरणाले सहज महुशस गरिरहेकी छु ।

श्रीमती र सांसदको जिम्मेवारीको तालमेल कसरी मिल्छ ?
श्रीमान् अर्धभूमिगत हुनुहुन्छ । तैपनि कामगर्न कुनै कठिनाई छैन । दुवैतिर तालमेल राम्रैसँग मिलिरहेको छ । पारिवारिक र राजनीतिक दायित्वबोधले दुवैजनालाई कामगर्न सहज बनाएको होला । श्रीमान्ले र मैले दुवैले राजनीतिक जीवनलाई आफ्नो कर्तव्य थानेर काम गरिरहेका छौं । त्यसैले पनि अप्ठेरो परेको छैन ।
मोहनविक्रम सिंहसँग यहाँको पहिलो भेट कहाँ र कसरी भयो ?
पहिलो भेट २०४५ साल सोरतगणमा भएको हो । प्रशिक्षणको कार्यक्रम हुँदा कलाकारको टिमबाट म सहभागी हुने अवसर पाएकी थिएँ । मोहनजी प्रशिक्षण दिनकालागि आउनुभएको थियो । पहिलो भेटमा व्यक्तिगतरुपमा खासै चिनजान त हुन पाएन । तर पहिलो भेट त्यही थियो ।

निकट्ता कसरी बढ्न गयो त ?
संगठनात्मक काममा लाग्दा उहाँसँग भेटघाट हुनेक्रम बढ्यो । धेरै लगनशील हुनुहुन्छ । रातभरी काम गर्नुहुन्थ्यो । काम नसकिए विहान पनि पुस्तक अध्ययन गर्ने लेख्ने काम गर्नुहुन्थ्यो । उहाँको लगनशीलता, इमान्दारिता, मेहनतीपनले मलाई उहाँप्रति मनभित्रबाटै मद्दत गर्न इच्छा जाग्यो । सहयोग गर्दैजाँदा एक–अर्कासँग निकट्ता बढ्न गयो । मनभित्र प्रेम कसरी जागेर आउनेरहेछ थम्याउनै सकिएन ।
निकट्ताले प्रेम र जीवनसाथीमा परिणत हुने संयोग कसरी जु¥यो ?
२०४५ देखि चिनजान भएपनि २०५७ सालमा आएर मात्रै हाम्रो प्रेमले साकाररुप लियो । यद्यपि सो अवधिमा हामी एक–अर्कासँग कहिल्यै विवाहको प्रस्ताव राख्न सकेनौं । भित्रभित्र मन पराउँथ्यौं । मोहनजीले पनि मलाई मनको एक कुनामा सजाएर राख्नुभएको थियो सायद । विवाहको प्रस्ताव पनि साथीहरुलाई राखिदिनु प¥यो । साथीहरुले विवाहको प्रस्ताव राखेपछि मोहनजीले पनि स्वीकार्नुभयो र म पनि नकार्न सकिनँ । कारण, एकअर्काको चाहनाको प्रतिफल थियो त्यो । दुवैतर्फको माया नभएको भए त्यो प्रस्तावले सार्थकता पाउँदैनथ्यो होला । हाम्रो आपसी प्रेमलाई बुझेपछि पार्र्टीले नै हाम्रो विवाह गरिदियो ।

पार्टी संघीयताको विरुद्धमा छ, यो कति तर्कपूर्ण छ ?
हाम्रो देशमा कहीं कतै एउटै जातिको बाहुल्यता छैन । सबै जातजाति घुलमिल भएर बसेका छौं, त्यसैले पनि हामीलाई संघीयता कुनै आवश्यक छैन । जातीयता, क्षेत्रीयताका लागि संघीयता किन चाहियो ? संघीयताले देशलाई फाइदाभन्दा वढी बेफाइदा गर्छ भन्ने हाम्रो दलको थम्याई छ । सामन्ती एकात्मक राज्यव्यवस्थाको अन्त्यगरी विकेन्द्रीकृत शासनप्रणाली चाहिएको हो । जनतालाई राज्य हैन, तलसम्म अधिकार चाहिएको छ । जनता अधिकार मागेका हुन्, राज्य हैन । गाउँ, टोल, वडा, जिल्लामा जनतालाई अधिकारबाट परिपूर्ण बनाउनुपर्छ । संघीयताले त्यो दिन सक्दैन । राज्य बाँडेर जनता अधिकार प्राप्त गर्न सक्दैनन् । त्यसैले हामी संघीयताको विरोध गरिरहेका  छौं ।

Durga 1

निर्वाचनको परिणामले त जनता संघीयतालाई स्वीकारेकै हुन् हैन र ?
जनताले त कुनैबेला पञ्चायत, निरंकुश राजतन्त्रलाई पनि स्वीकारेकै थिए् नि । अहिले सबैले संघीयताबारे बुझन् पाएका छैनन् । संघीयता देशको दीर्घकालिन निकास होइन । आज जुन जनताले समर्थन गरेर संघीयताको पक्षमा मत दिनुभएको छ । भोलि बुझेपछि त्यही जनताले नै संघीयताको विरुद्धमा मतदान गर्नुहुनेछ । हामी निरन्तर यसको विपक्षमा जनतालाई सचेत गराउने छौं र एकदिन हामी सफल हुन्छौं भन्ने हाम्रो पार्टीको गहिरो विश्वास छ । संघीयता विकेन्द्रीकरण होइन, नेताहरुले यसलाई गलतरुपले अथ्र्याइरहेका छन् ।

संघीयताको प्रमुख चुनौति के देख्नुभएको छ ?
संघीयतामा कार्यान्वयन हुन्छ भन्ने हाम्रो दललाई विश्वासै छैन । संघीयतामै देश नगएर चुनौति यो होला भनेर अहिले नै भन्न हतार   होला । तथापि संघीयता विकेन्द्रिकरणको आधार होइन । अधिकारमा विकेन्द्रीकृत गर्नुपर्छ तर यसकोअर्थ संघीयतालेमात्रै गर्नसक्छ भन्ने भ्रम जनतामा फैलाउनु हुन्न । जातीय राज्य, एक मधेस एक प्रदेशको माग आउनुले संघीयताको चुनौति झल्काइरहेकै छ नि ।

अन्त्यमा, केही भन्न बाँकी छ कि ?
जनताहरुले नयाँ संविधान निर्माणका लागि जनादेश दिएका थिए । हामीले निर्माण गरेर देखायौं । अब नयाँ संविधानको कार्यान्वयनमा सबैले साथ दिनुपर्छ । हाम्रो पार्टी पनि त्यसका लागि जिम्मेवार भएर लागिरहेको छ, लाग्ने छ । संघीयताको विरुद्धमा हाम्रो पार्टी रहे पनि संविधानको विरुद्धमा छैन । हामी सरकारमा छौं । त्यसैले पनि यसको सही कार्यान्वयनमा हाम्रो जिम्मेवारी र दायित्व रहन्छ ।

तपाईको प्रतिक्रिया